News Griha :: न्यूजगृह
गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल एअरलाइन्सले गर्‍यो परीक्षण उडान

गुल्मी— रेसुङ्गा विमानस्थलमा शुक्रबार परीक्षण उडान गरिएको छ । रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज शुक्रबार बिहान ७ बजेर ३९ मिनेटमा अवतरण भएको हो ।

निगम र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि निगमले परीक्षण उडान गरेको हो । २०६३ सालदेखि निर्माण सुरु गरिएको उक्त विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो । कुल ३३ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको विमानस्थलको लम्बाइ पाँच सय २० मिटर र चौडाइ २० मिटर रहेको छ ।

एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुद्र सतहदेखि एक हजार पाँच सय २६ मिटरको उचाइमा रहेको छ । शुक्रबारको उडानपछि व्यावसायिक उडान गर्ने योजना रहेको वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कंडेलले जानकारी दिए ।

प्राविधिक टोलीले सबै कुराको जानकारी लिएपछि निगमले व्यावसायिक उडान थाल्ने उनको भनाइ छ । कति यात्रु बोक्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेपछि मात्र भाडादर निर्धारण गरिने कंडेलको भनाइ छ । ‘रेसुङ्गा– काठमाडौं उडानको भाडा अहिले प्रतिव्यक्ति सरदर छ हजार पाँच सय रुपैयाँ हुने भनिए पनि अन्तिममा छ हजारसम्म कायम हुनसक्छ’, उनले भने ।

निगमका क्याप्टेन मनिष विष्टले एक साताभित्र नागरिक उड्ययन प्राधिकरणलाई शुक्रबारको उडान प्रतिवेदन बुझाएपछि नियमित उडान हुने बताए । रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ साल २५ जेठमा पनि परीक्षण उडान गरिएको थियो ।

लामो समयपछि जहाज चढेर काठमाडौं जाने गुल्मीवासीको सपना अब चाँडै साकार हुने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १०:०५
Weather Update