काठमाडौं— रातभरको वर्षाले भक्तपुरका विभिन्न स्थानमा बाढी पसेको छ।
बुधबार बिहान करिब पौने ३ बजेतिर सूर्यविनायक नगरपालिकाको पुरानो जगाती पुल नजिकको एक कपास उद्योगमा र चाँगुनारायण नगरपालिका–८ को एक फर्निचर उद्योगमा बाढीले क्षति पुर्याएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।
पुरानो जगाती पुल नजिकको ठाडो खोलाको बाढी कपास उद्योगमा पस्दा कपास र कपासले बनेका तयारी सिरक–डसनामा क्षति पुगेको छ।
यसैगरी चाँगुनारायण नगरपालिका ८ मा लक्ष्मी प्रजापतिले सञ्चालन गरेको साइन उड्न फर्निचरमा ब्रह्मायणी खोलाको बाढी पसेको थियो। बाढीले फर्निचर उद्योगका प्लाई र मेसिनमा क्षति पुगेको छ।
भक्तपुर प्रहरीका अनुसार बाढीले मानवीय र अन्य ठूलो भौतिक क्षति पुगेको जानकारी भने आएको छैन। तर, विभिन्न स्थानमा बस्ती जलमग्न भएका छन्। सधैं डुबान हुने गरेको राधेराधे क्षेत्रमा भने ठूलो बाढी देखिएको छैन।
१२ घण्टाको अवधिमा काठमाडौं उपत्यकासहित देशभर वर्षा भएको थियो। वर्षाका कारण हनुमन्ते, मनोहरा, बागमती, गोदावरी लगायतका नदी तथा खोलाहरूमा बाढी आएको छ।