News Griha :: न्यूजगृह
केरलमा बाढीपहिरोः १ नेपाली बालकसहित ५० जनाको मृत्यु

काठमाडौं — भारतको केरल राज्यको वायनाडमा बाढीपहिरो जाँदा १ नेपाली बालकसहित कम्तीमा ५० जनाको मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार बिहान वायनाड जिल्लाको मेप्पाडी क्षेत्रमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परीले ठूलो क्षति पुर्‍याएको हो।

टाइम्स अफ इन्डिया र एनडीटीभीका अनुसार थोन्डरनाड क्षेत्रमा एक नेपाली परिवारका १ वर्षीय बालकको मृत्यु भएको हो। मंगलबार बिहान वायनाडको पहाडी क्षेत्र मुंडक्कई र चूरलमाला क्षेत्रमा पहिरो गएको हो। पहिरोका कारण गाउँसम्म जाने बाटो र पुल बगाएपछि सुरक्षाकर्मीहरूले अस्थायी पुल बनाएर उद्धारका लागि पुगेको केरलको स्थानीय समाचारसंस्था मनोरमाले जनाएको छ।

मनोरमाका अनुसार ७० जनाभन्दा बढीलाई अस्पताल लगिएको छ। त्यस्तै बाढी पहिरोका कारण ४ सयभन्दा बढी परिवार विस्थापित भएका छन्। बाढीपहिरोमा फसेका २५० भन्दा बढीलाई उद्धार गरिएको छ। केरलका मुख्यमन्त्री पिनराई विजयनले वायनाडमा उद्धारका लागि सबै लागिसकेको बताएका छन्। त्यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

त्यस्तै प्रधानमन्त्री कार्यालयका अनुसार मृतकका परिवारलाई प्रतिपरिवार २/२ लाख रुपैयाँ र घाइतेलाई ५० हजार उपलब्ध गराइने छ।
वायनाडका सांसदसमेत रहेका भारतीय प्रतिपक्षी कांग्रेसका नेता राहुल गान्धीले यूडीएएफका कार्यकर्तालाई उद्धार कार्यमा लाग्न आग्रह गरेका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १४:०३
Weather Update