भक्तपुर, दोलखा र सिन्धुपाल्चोकमा भारी वर्षा
काठमाडौं— भक्तपुर, दोलखा र सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ।
भक्तपुरको हनुमन्ते खोला जगाती बाढीमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। त्यसैले हनुमन्ते खोलाको तटीय क्षेत्रमा रहनेहरूले बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
दोलखा र सिन्धुपाल्चोकमा मध्यमदेखि भारी वर्षा मापन भएको छ। त्यसैले यी जिल्ला भएर बहने नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेको विभागको भनाइ छ।
कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन विभागको आग्रह छ।
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१ ०६:४९