News Griha :: न्यूजगृह
माहेश्‍वरी महिला मञ्चको श्रावणी मेला सुरु

विराटनगर— माहेश्‍वरी महिला मञ्च विराटनगरको आयोजनामा शुक्रबारदेखि स्थानीय अतिथि सदनमा दुई दिने श्रावणी मेला सुरु भएको छ। मञ्चले ६ वर्षदेखि हरेक साउन महिनामा श्रावणी मेला गर्दै आएको छ।

मेलाको उद्‌घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरे। मेलाको उद्‌घाटन मुख्यमन्त्री कार्कीले विराटनगर आर्थिक र व्यावसायिक क्षेत्रमा महत्त्वपूर्ण थलो भए पनि अपेक्षाअनुसारको समृद्धि हासिल गर्न नसकेको बताए।

मुख्यमन्त्री कार्कीले विराटनगरका मारवाडी समुदायका महिला स्वास्थ्य, समाजसेवा, शिक्षा र व्यवसायका क्षेत्रमा अगाडि रहेको उल्लेख गर्दै महिलाले सम्पन्न गरेको कार्य भरपर्दो र विश्वसनीय हुने धारणा राखे।

मञ्चका अध्यक्ष ललिता जाजूले मञ्चले महिलालाई आत्मनिर्भर बनाउन र हरेक कार्यमा हौसला प्रदान गर्न निरन्तर कार्यक्रम गर्दै आएको बताइन्।

मेला संयोजक ललिता राठीले मेलामा खानेकुरा, लुगाकपडा, मरमसला, गरगहना, सजावट र शृङ्गार प्रसाधनका ३२ वटा स्टल भएको जानकारी दिइन्।

दुई दिनसम्म चल्ने मेलामा ४ हजार जनाले अवलोकन गर्ने मञ्चले अपेक्षा गरेको छ। 

कार्यक्रममा माहेश्‍वरी समाज विराटनगरका अध्यक्ष घनश्याम काबराले माहेश्‍वरी महिला मञ्चले आफ्नो स्थापनाकालदेखि नै मानवताको सेवामा आफूलाई समर्पण गरेको बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०७:५९
Weather Update