News Griha :: न्यूजगृह
त्रिविमा शैक्षिक क्यालेन्डर लागू, कार्यान्वयन होला?

काठमाडौं—  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक सत्र २०८१ को शैक्षिक क्यालेन्डर स्वीकृत गरेको छ। २०८१ असार २५ गते बसेको त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले वार्षिक शैक्षिक क्यालेन्डर स्वीकृत गरेको हो।

त्रिवि शिक्षाध्यक्षको कार्यालयले उक्त शैक्षिक क्यालेन्डर लागू गर्न मातहतका निकायहरूलाई निर्देशन दिएको छ। त्रिवि अन्तर्गतका अध्ययन संस्थान, सङ्काय, आङ्गिक क्याम्पस, केन्द्रीय विभागहरू तथा कार्यक्रम लगायतका निकायहरूलाई शैक्षिक क्यालेन्डर लागू निर्देशन दिएको हो।

शिक्षाध्यक्ष प्राडा खड्क केसीले शैक्षिक क्यालेन्डर पारित गरेर लागू गर्न मातहतका निकायलाई निर्देशन दिइएको बताए । त्रिविले क्यालेन्डर कार्यान्वयनको अवस्थाबारे अनुगमन गर्न एक समिति समेत बनाएको छ। उक्त समितिले नियमित अनुगमन गर्ने केसीको भनाइ छ।

त्रिविले स्नातक तह र स्नातकोत्तर तहको वार्षिक प्रणाली तथा सेमेस्टर प्रणाली अनुसारको क्यालेन्डर बनाएको हो।स्नातक तह सेमेस्टर प्रणाली अन्तर्गत पहिलो सेमेस्टरका लागि २०८१ साउन दोस्रो हप्तादेखि भदौको दोस्रो हप्तासम्म आवेदन आह्वान हुनेछ।

त्यस्तै भदौको तेस्रो हप्ता प्रवेश परीक्षा हुनेछ भने असोजदेखि कात्तिकको बीचमा विद्यार्थी भर्ना गरिनेछ। त्यस्तै, मङ्सिरको पहिलो हप्तादेखि कक्षा सञ्चालन हुनेछन्। माघको चौथो हप्तादेखि परीक्षा सञ्चालन हुनेछ। २०८२ वैशाख चौथो हप्तामा पहिलो सेमिस्टरको नतिजा प्रकाशित गर्ने गरी शैक्षिक क्यालेन्डर बनाएको हो। 

त्यस्तै वार्षिक प्रणाली अनुसार स्नातक तह प्रथम वर्षका लागि साउन दोस्रो हप्तादेखि भदौ तेस्रो हप्तासम्म भर्ना र भदौको चौथो हप्तादेखि कक्षा सञ्चालन हुनेछ।

२०८१ को चैत चौथो हप्तामा परीक्षा फारम खुल्नेछ। २०८२ जेठ पहिलो हप्तामा कक्षा सकिनेछैन भने २०८२ जेठ चौथो हप्तादेखि परीक्षा सञ्चालन हुनेछन्। त्यसको नतिजा २०८२ असोजको दोस्रो हप्तामा आउने गरी शैक्षिक क्यालेन्डर बनाएको हो।

त्यस्तै स्नातकोत्तर तहको हकमा प्रथम सेमेस्टरका लागि २०८१ को मङ्सिरमा आवेदन फारम खुल्नेछ। पुसमा प्रवेश परीक्षा तथा भर्ना हुनेछ। भने माघ १ गतेदेखि कक्षा सञ्चालन हुनेछ। चैतको चौथो हप्तादेखि परीक्षा सञ्चालन हुनेछन् भने २०८२ असार चौथो हप्ताभित्रमा नतिजा प्रकाशित हुनेछ।

त्रिविका क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूले प्रयोगात्मक परीक्षाको अनुगमन गर्नेछन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ११:३१
Weather Update