म्याग्दी— पहिरोको उच्च जोखिममा रहेको जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ हल्लेखर्क रोहोटेका ६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
म्याग्दी हाइड्रोपावरले निर्माण गरेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको सुरुङको आउटलेट आसपासको क्षेत्रमा जमिन चिराचिरा परेर बग्न थालेपछि जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सारिएको हो।
रामजी बरुवालको परिवारलाई स्थानीय मन्दिरमा राखिएको बताउँदै अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले अन्य परिवारलाई आफन्त तथा अन्यत्र रहेका उपीहरूकै घरगोठमा सारिएको जानकारी दिए।
उनका अनुसार चक्रबहादुर बरुवाल, दुर्गाबहादुर बरुवाल, गणेश खड्का, रगुन खड्का, मनबहादुर बरुवाल र नेत्रबहादुर खड्काको परिवार विस्थापित भएका हुन्।
सामान्य जोखिममा रहेका दुई परिवारलाई सतर्कता अपनाउन अनुरोध गरिएको वडाध्यक्ष खड्काले बताए। उनका अनुसार घारखोलाको आउटलेटको दुई किलोमिटर वरपरको क्षेत्र धाँजा फाटेर खेतीयोग्य जमिन र बस्ती जोखिममा परेको हो।
जनप्रतिनिधि, सुरक्षाकर्मीले घरका सामग्री सार्न सहयोग गर्नुका साथै अन्नपूर्ण गाउँपालिकाले प्रारम्भिक राहत सामग्री सहयोग गरेको छ। विस्फोटक पदार्थको प्रयोग गरेर घारखोलाको सुरुङ खन्ने क्रममा भएको कम्पन्नको असर अहिले देखिन थालेको स्थानीयले बताएका छन्।