News Griha :: न्यूजगृह
नारायणगढ—मुग्लिन सडकमा पहिरोले दुई यात्रुबस बगायो, अर्को यात्रुबसमा ढुङ्गा लाग्दा चालकको मृत्यु
सिमलतालमा गएको पहिरो । तस्बिर : सडक डिभिजन, भरतपुर

चितवन— नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यसैगरी सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको मृत्यु भएको पनि प्रहरीले जनाएको छ।

सिमलतालमा दुईवटा बस पहिरोमा बगेको भन्ने जानकारी आए पनि एउटा बसको केही भाग मात्र देखिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए। काठमाडौंबाट गौर जाँदै गरेको रहेको बसबाट हाम फालेका ३ यात्रुले बताएका डीएसपी रिजालले जानकारी दिए।

चितवनका प्रमुख जिल्ला अधिकारीका इन्द्रदेव यादवका अनुसार सिमलतालमा बगेका दुई बसमध्ये वीरगञ्जबाट काठमाडौै गइरहेको बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको बसमा  ४१ जना यात्रु छन्।

त्यसैगरी सोही सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुङ्गाले लागेर बसका चालकको मृत्यु भएको छ।

बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई ढुङ्गाले लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको डीएसपी रिजालले बताए।

उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको घटनास्थलतर्फ जाँदै गरेका चितवन प्रहरीका एसपी भावेश रिमालले बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०६:०१
Weather Update