News Griha :: न्यूजगृह
हेटौंडा-काठमाडौं जोड्ने तीनवटै सडक पहिरोले अवरुद्ध
कान्ति लोकपथ। फाइल तस्बिर।

काठमाडौं— काठमाडौंबाट हेटौँडा जाने छोटो दूरीका तीनैवटा सडकमार्ग पहिरोका कारण अवरुद्ध भएका छन्।

ललितपुर क्षेत्रमा गएको पहिरोले कान्ति लोकपथ अवरुद्ध भएको छ। यस्तै मातातीर्थ हुँदै हेटौँडा जाने सडक पनि अवरुद्ध बनेको छ। महालक्ष्मी पुल भन्दा अलि पर पहिरो गएर बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।

यसैगरी सिस्नेरी-दक्षिणकाली सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ। अविरल वर्षाका कारण पहिरो जाँदा हेटौंडा–काठमाडौंको वैकल्पिक मार्ग सिस्नेरी-दक्षिणकाली सडकखण्ड अवरुद्ध भएको हो।

वर्षाको कारण सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर-२ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

ठूलो पहिरो गएकोले तत्काल पहिरो पन्छाएर बाटो खुलाउन सकिने सम्भावना नरहेको प्रहरीको भनाइ छ।

बाटो सञ्चालन गर्न सडक डिभिजन कार्यालय मकवानपुर र इन्द्रसरोवर गाउँपालिकासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०९:३७
Weather Update