News Griha :: न्यूजगृह
पछिल्लो २४ घण्टादेखि काठमाडौं उपत्यकामा वर्षा जारी, कहाँ कति पर्‍यो पानी?

काठमाडौं— देशभरका विभिन्न स्थानसँगै काठमाडौं उपत्यकामा पनि वर्षा जारी छ। 

यस क्रममा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका पनि विभिन्न स्थानमा भारी तथा धेरै भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहान दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका एक स्थानमा धेरै भारी र ७ स्थानमा भारी वर्षा भएको हो।

महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र सबैभन्दा बढी ललितपुरको लेलेमा १२४.८ मिलिमिटर वर्षा भएको छ।  यसैगरी ललितपुरकै गोदावरीमा ९५ मिलिमिटर, काठमाडौंको नैकापमा ८६ मिलिमिटर, कीर्तिपुरमा ८५.६ मिलिमिटर, ललितपुरको टीकाथलीमा ६७.६ मिलिमिटर, काठमाडौंको पानीपोखरीमा ६१.२ मिलिमिटर, बबरमहलमा ५८.४ मिलिमिटर र  धापड्याममा ५७ मिलिमिटर वर्षा भएको महाशाखाको विवरणमा उल्लेख छ।

सय मिलिमिटरभन्दा माथिको वर्षालाई मौसमविद् धेरै भारी वर्षा भन्छन्। मौसमविद्को भाषामा ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ।

मौसम महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार विगत २४ घण्टादेखि काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ।

‘आज पनि दिनभर नै रोकिने सम्भावना छैन’, उनले भनिन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०८:२५
Weather Update