News Griha :: न्यूजगृह
गुल्मीको रिडी–पूर्तिघाट सडक अवरुद्ध
प्रतीकात्मक तस्बिर।

गुल्मी— वर्षाका कारण पहिरो गएपछि कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीको रिडी–पूर्तिघाट सडकखण्ड अवरुद्ध बनेको छ। 

गएराति वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । कालीगण्डकी गाउँपालिकाको भुर्तुङ र वडा नं ३ को मुल्कामा गएराति सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक शङ्कर पोख्रेलले जानकारी दिए । लगातार वर्षा भइरहेकाले पहिरो पन्छाएर सडक सञ्चालन गर्न समस्या भइरहेको उाले बताए । 

वर्षाका कारण आज बिहानदेखि अवरुद्ध बनेको तम्घास‐रिडी खण्ड भने सञ्चालन भएको सूचना अधिकारी पोख्रेलले जानकारी दिए । उक्त खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकाको कालीका मोड, छत्रकोट गाउपालिकाको शृङ्गा र गुल्मीदरबार गाउँपालिकाको बिरबासमा पहिरो गएपछि बिहानैदेखि सडक अवरुद्ध बनेको थियो । 

अवरुद्ध सडक स्थानीय पालिका र निर्माण व्यवसायीको पहलमा सञ्चालन गरिएको हो । सडक सञ्चालन भएसँगै लामो तथा छोटो दूरीमा आवतजावत गर्ने र बीचमा रोकिएका सम्पूर्ण सवारिसाधन आफ्नो गन्तव्यतर्फ लागेका सूचना अधिकारी पोख्रेलले बताए । वर्षाका कारण सडक अवरुद्ध बनेपछि ग्रामीण भेगबाट सदरमुकाम तम्घास आउने एक दर्जनभन्दा बढी सडक अवरुद्ध बनेका छन् । 

निरन्तर वर्षा भइरहेकाले जिल्ला प्रशासन कार्यालयले नदी तथा खोला किनार क्षेत्र र पहिरोग्रस्त क्षेत्रका स्थानीयलाई सतर्क रही सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । प्रशासनले वर्षाको समयमा अत्यावश्यक काम बाहेक मानिसलाई लामो यात्रामा ननिस्कनसमेत आग्रह गरेको छ । 

वर्षाका कारण कालीगण्डकी, बडिघाट, छल्दी, निस्तीलगायत नदी तथा स्थानीय खोलामा पानीको बहाव बढ्दै जान थालेकाले सतर्क रहन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १३:५४
राजनीति
Weather Update