News Griha :: न्यूजगृह
एआईजीमा सिफारिस पोखरेल डीआईजीमै अवकाश

काठमाडौं— प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका पोषराज पोखरेल प्रहरी नायब महानिरीक्षक (डीआईजी) मै अवकाशमा गएका छन्। उनी शुक्रबार राति १२ बजेबाट अवकाशमा जाँदै छन्।

मन्त्रिपरिषद् बैठकले बढुवाको निर्णय नगर्दा पोखरेलले दुई दिन एआईजी बन्ने मौका गुमाएका हुन्।

असार १० मा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो।

असार १८ मा ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएका एआईजी उमेशराज जोशीको स्थानमा पोखरेललाई बढुवा सिफारिस गरिएको थियो।

सिफारिसअनुसार बढुवा भएको भए उनी असार १९ र २० गते एआईजी हुने थिए। तर, यसबीच सत्ता साझेदार प्रमुख घटक नेकपा (एमाले) ले नेपाली कांग्रेसको सत्ता सहकार्यको सहमति गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मन्त्रिपरिषद् बैठकले पोखरेलको बढुवाको निर्णय गरेन।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुख रहेका पोखरेललाई उनको कार्यालयले बिहीबार नै बिदाइ गरिसकेको छ।

सेवा अवधि बाँकी भए पनि ५६ वर्षे उमेरहदका कारण पोखरेल अनिवार्य अवकाशमा गएका हुन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १२:०७
Weather Update