उदयपुर— डिभिजन वन कार्यालय उदयपुरले लोपोन्मुख दुर्लभ ध्वाँसे चितुवाको उद्धार गरेको छ । वन कार्यालयले बेलका नगरपालिका–९ यशोधा खोलामा घाइते अवस्थामा रहेको दुर्लभ पोथी जातको ध्वाँसे चितुवालाई उद्धार गरेर चितवन राष्ट्रिय निकुञ्ज पठाएको हो ।
नगरपालिकाको वन क्षेत्रमा फेला परेको उक्त घाइते चितुवालाई चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, जौविक विविधता संरक्षण केन्द्रमा पठाइएको डिभिजनल वन अधिकृत डा. इन्द्रप्रसाद सापकोटाले जानकारी दिए ।
वन कर्मचारीले गस्तीको क्रममा बेलकाको वन क्षेत्रमा चितुवालाई भेटेको थियो । चितुवालाई पशु विज्ञ केन्द्र उदयपुर र कोशी टप्पु वन्यजन्तु आरक्षको पशु विज्ञ चिकित्सकको टोलीले प्राथामिक उपचार गरी थप उपचार र संरक्षणको लागि चितवन पठाइएको डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ ।
नेपालको संरक्षित तथा अति लोपोन्मुख वन्यजन्तुको लअनुसूची १ मा रहेको ध्वाँसे चितुवा नेपालमा करिब ४ सय र विश्वमा तीन हजारको हाराहारीमा मात्र रहेको अनुमान छ ।