
काठमाडौं— राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुसको औपचारिक भ्रमण गरी मंगलबार स्वदेश फर्किएका छन् ।
रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोले निमन्त्रणामा आठ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रुस गएका अध्यक्ष तिमिल्सिना मंगलबार अपरान्ह स्वदेश फर्किएका हुन् ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष तिमिल्सिनाले आफ्नो रुस भ्रमण फलदायी भएको बताए ।
उनले भ्रमणका क्रममा स्वतन्त्र कमनवेल्थ राष्ट्रहरुको अन्तरव्यवस्थापिका सभाका महासचिव दिमित्री कोबित्स्की लगाएतसँग महत्त्वपूर्ण छलफल भएको बताए ।
दुई देशबीचको संसद्बीचको सहकार्यलगायत नेपालको पूर्वाधार निर्माणका विषयमा पनि भ्रमण महत्त्वपूर्ण भएको उनले बताए ।
रुसको सहयोगमा निर्माण भएको कान्तिबाल अस्पतालको स्तरोन्नती गर्न पनि रुस सकारात्मक देखिएको तिमिल्सिनाले बताए ।