News Griha :: न्यूजगृह
हेटौँडा उपमहानगरको न्यायिक समितिबाट ११५ मुद्दाको मिलापत्र

मनहरी— मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको न्यायिक समितिले चालु आर्थिक वर्ष २०८०–८१ को जेठ मसान्तसम्ममा एक सय १५ विभिन्न विवादका मुद्दाको मिलापत्र गराएको छ। 

उपप्रमुख राजेश बानियाँको अध्यक्षतामा बसेको बैठकले दुवै पक्षको उपस्थितिमा मिलापत्र गराएको न्यायिक समिति सचिवालयका अधिकृत सुजन तिमल्सिनाले जानकारी दिए। समितिमा गत आवका २८ सहित चालु आवको जेठ मसान्तसम्ममा दुई सय ३८ विवादका निवेदन दर्ता भएका थिए। उनले भने– ‘हामीले ३६  निवेदकलाई अदालत जान सल्लाह दिएका छौँ।’ 

नगरभित्रका वडामा रहेका मेलमिलाप केन्द्रमा छलफल हुने गरेको र त्यहाँ टुङ्ग्यो नलागेका मुद्दा नगरको न्यायिक समितिमा आउने गरेको न्यायिक समितिका संयोजक एवं उपप्रमुख बानियाँले बताए। समितिले चार निवेदन फिर्ता गरेको, ११ वटा मुलतवीमा राखेको र तीनवटा निवेदन तामेलीमा राखेको छ।  

वडा मेलमिलाप केन्द्रमा छलफलको प्रक्रियामा ५२  निवेदन रहेका तथा न्यायिक समितिमा २९ निवेदन प्रक्रियामा रहेका छन्। प्रायजसो न्यायिक समितिमा जग्गा–साँध सिमानासम्बन्धी र आर्थिक लेनदेनसम्बन्धी विवादका उजुरी बढी आउने गरेका छन्। 

समितिमा जग्गा–साँध सिमानासम्बन्धी ६२, आर्थिक लेनदेनसम्बन्धी ५१, पतिपत्नीसम्बन्धी २१, बाटोसम्बन्धी २९, घरायसी–अंशसम्बन्धी १९, ज्याला मजदुरी नपाएका १६, घरबहाल नपाएको कोठा खाली गरी पाउँ भन्नेबारे १४ तथा सहमति कार्यान्वयनका १२ उजुरी परेका सचिवालयले जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १८:३०
Weather Update