News Griha :: न्यूजगृह
श्रमिकका विषयमा छलफल गर्न २९ देशका गृह श्रमिक काठमाडौंमा

काठमाडौं— आफ्नो घर वा घर नजिकै बसेर वस्तु तथा सेवा उत्पादन गर्ने २९ देशका गृह-श्रमिकहरू काठमाडौंमा भेला भएका छन् । आफ्नै स्वामित्व वा विभिन्न साना ठेकेदारमार्फत काम गर्ने कामदारहरू काम गर्ने क्रममा आफूले भोग्दै आएका कठिनाइका विषयमा छलफल गर्न विभिन्न देशका १२७ श्रमिक काठमाडौंमा उपस्थित भएका हुन् ।

गृह-श्रमिकहरूको संस्था होमनेट इन्टरनेशनलको अन्तराष्ट्रिय सम्मेलन पहिलोपटक काठमाडौंमा आयोजना गरिएको हो । विश्वभरका १२ लाख गृह-श्रमिकहरूको प्रतिनिधित्व गर्ने होमनेट इन्टरनेशनलमा ९५ प्रतिशत महिला श्रमिक रहेका छन् ।

यसैगरी होमनेट इन्टरनेशनलकी संयोजक जाह्नवी डेभले विश्वका १७० महिला सम्मेलनमा सहभागी भएको बताइन् । सम्मेलनमा विशेषगरी श्रमिकका कामका सन्दर्भमा भएका अप्ठ्यारा र आगामी दिनमा कसरी एकीकृत रूपमा आफ्ना समस्याहरूलाई अगाडि बढाउने भनेर छलफल गरिने बताइन् ।

Home Based-Workers31682424467.png

गृह-श्रमिक विशेषगरी महिलाहरू पृष्ठभूमिमा बसेर दत्तचित्त भएर काम गर्न मन पराउने तर अगाडि आएर अझैपनि आफ्ना समस्याका विषयमा बोल्न नसक्ने उनको भनाइ थियो ।

गृह-श्रमिकहरूले पर्याप्त आर्थिक अवसरबाट वञ्चित हुने गरेको र कानुनी अधिकार, सामाजिक सुरक्षा र आफ्नो आवाजको प्रतिनिधित्व नभएको उनको भनाइ छ । उनी भन्छिन्, 'गृह-श्रमिकहरू, खासगर महिला गृह-श्रमिकहरूलाई थप पहिचान र प्रचारप्रसार गर्न र विश्व मञ्चहरूमा बलियो, एकताबद्ध र प्रतिनिधित्व सहितको आवाज प्रदान गरी आफ्नो कार्य जीवनमाथि बढी शक्ति भएका सरकार र रोजगारदाताहरूसँग थप प्रभावकारी तरिकाले संवाद गर्न होमनेट इन्टरनेशनलको स्थापना गरिएको हो ।'

त्यस्तै,  होमनेट इन्टरनेशनल साउथ एसियाका अध्यक्ष रेनाना झाबवाला गृह श्रमिकको ज्ञान, सीपको हिसाबले सम्पन्न भएपनि आफ्नो कुरा बाहिर ल्याउने विषयमा पछि रहेको बताए । आफ्नो समस्या नबोल्ने भएको हुनाले श्रमिकका समस्याका विषयमा धेरै छलफल, बहस समेत नहुने उनको भनाइ थियो । 'श्रमिकका आवाज हामीले धेरै सुनेका हुँदैनौँ । किनकि उहाँहरू अगाडि आएर बोल्नु हुँदैन', उनले भने, 'तर, उहाँहरू पछाडि बसेर काम गर्नुहुन्छ । हाम्रो दिमाग राम्रो छ । राम्रो दिमागलाई हामीले राम्रो मनसँग कनेक्ट गरेर काम गर्‍यौँ भने अझ राम्रो हुनेछ ।'

गृह श्रमिकको ज्ञान, सीपलाई महत्त्व नदिने समस्या रहेको उल्लेख गर्दै उनले तर, वास्तवमा गृह-श्रमिकको भविष्य रहेको बताइन् । साउथ एसिया क्षेत्रमा ६१ मिलियन गृह श्रमिक रहेको भन्दै गृह-श्रमिकले संस्कृतिको संरक्षण पनि गरिरहेको बताइन् । संस्कृतिलाई मोडर्न युगमा फेशन डिजाइनसँग पनि जोडिरहेको भन्दै उनले गृह-श्रमिकहरू काम गरिरहे पनि अझैपनि उनीहरूको कामको सम्मान हुन नसकेको बताइन् ।

सबा नेपालकी अध्यक्ष अप्सरा डंगोल घरमार्फत वा घर नजिकै रहेर काम गर्ने गृह श्रमिकहरू आर्थिक रूपमा सबल भएपनि त्यसले पार्ने प्रभावका कारण समस्यामा रहेको बताइन् । घरमै बसेर आयआर्जनको काममा महिलाहरूले राम्रो काम गरिरहनुभएको छ । तर त्यसले उहाँहरू दीर्घकालीन रूपमा समस्यामा समेत पर्नुभएको छ। उनी भन्छिन्, 'हामी आर्थिक रूपमा सबल भयौँ । तर, त्यो कामका कारण हामी शारीरिक तथा अन्य विभिन्न समस्यामा परेका छौँ । त्यसले पार्ने प्रभावका विषयमा राज्यले पनि हेर्नु आवश्यक छ ।'

Home Based-Workers21682424496.png

त्यस्तै थाइल्यान्डकी गृह-श्रमिक पुन्साप तुलापामले लामो समयको संघर्ष र पर्खाइपछि सम्मेलनको आयोजना गर्न सफल भएको भन्दै सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्ने बताइन् । गृह-श्रमिकहरू संगठित हुन समेत कठिनाइ भोग्नुपरेको भन्दै उनले अझै गृह-श्रमिकको पक्षमा धेरै काम गर्न बाँकी रहेको बताइन् ।

विश्वभरका १२ लाख गृह-श्रमिकहरूको प्रतिनिधित्व गर्ने होमनेट इन्टरनेशनलमा ७५ सदस्य संस्थाहरू आबद्ध छन् । तर, काठमाडौंमा आयोजना गरिएको सम्मेलनमा भने ७१ संस्थाका प्रतिनिधिहरू सहभागी छन् ।

सम्मेलनमा आफ्ना प्राथमिकताका विषयमा छलफल गर्न, बजारमा आफ्ना उत्पादनहरू प्रदर्शन गर्न, महामारीका समयमा सुरु गरेको ऐक्यबद्धता र एकतालाई थप मजबुत बनाउन पहिलो चोटि प्रत्यक्ष भेटेर सम्मेलनको आयोजना गरिएको होमनेट इन्टरनेशनका संस्थापक चाँदनी जोशीले जानकारी दिइन् ।

सन् १९७० को दशकदेखि विश्वभरका गृह-श्रमिक महिलाहरू संगठित हुन सुरु गरेका थिए । 'हामी धेरै छौँ, हामी एकताबद्ध छौँ, हामी होमनेट इन्टरनेशनल हौँ' भन्ने मूल नारा दिइएको उक्त सम्मेलनमा बजारसम्मको पहुँचको अभाव, सामाजिक सुरक्षाको अभाव र जलवायु परिवर्तनको असर लगायतका कारण गृह-श्रमिकहरूले दैनिक जीवनमा भोग्दै आएका समस्याका विषयमा शृङ्खलाबद्ध छलफल गरिने बताइएको छ ।

अन्तराष्ट्रिय श्रम संगठन आइएलओले सन् २०१९ मा गरेको एक अध्ययन अनुसार संसारभर २६ करोड भन्दा बढी गृह-श्रमिक छन् । जसले विश्व श्रम बजारको ८ प्रतिशत कामदार समेट्छ । २६ करोडमध्ये १४ करोड ७० लाख अर्थात् ५७ प्रतिशत गृह-श्रमिक महिला छन् । त्यसमध्ये पनि झन्डै दुई तिहाइ (६५ प्रतिशत) गृह-श्रमिक एसिया क्षेत्रमा क्रियाशील छन् ।

यस संस्थामा ल्याटिन अमेरिका, अफ्रिका, दक्षिण एसिया, दक्षिण पूर्वी एसिया र पूर्वी युरोप तथा मध्य एसियाका ३३ देशहरूबाट गृह-श्रमिक सम्बन्धित ७५ संस्थाहरू आबद्ध छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १८:००
Weather Update