News Griha :: न्यूजगृह
प्रयोगमा नआइ खण्डहर बन्दै दलितका लागि निर्माण गरिएका आवास  

सिरहा— गोलबजार नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा निर्माण गरेको ‘दलित नमूना बस्ती’ (दलितका लागि आवास भवन) अहिलेसम्म प्रयोगमा आएको छैन। 

दलित आवासका लागि भनेर नेपाल सरकारको तराइ मधेस समृद्धि कार्यक्रमको २ करोड ५० लाख सहयोगबाट १५ वटा घर निर्माण गरिएको थियो। ती घरहरुमा जम्मा ९० कोठाहरु छन्। आर्थिक वर्ष २०७७/०७८ मा आरसीसी ढलान सडक र घरको मर्मत सम्भार गर्न थप ७५ लाख रकम नगरपालिकाले खर्च गरेको थियो। 

तीन करोड २५ लाख लगानी गरेर नमूना  दलित बस्ती भनेर नामाकरण गरिएको यी भवनहरु निर्माण भएको सात वर्ष बित्दा पनि यहाँ कुनै दलित वा अन्य कुनै समुदायका मानिसहरु आएर बस्न मानेका छैनन्।

दलितका नाममा  निर्माण भएको  ९० कोठा भएको १५ वटा घर अहिले वनमाराले झयाप्पै छोपेको छ। बस्ती काँसघारीमा परिणत भएको छ। बस्ती परिसरमा रात परेपछि स्यालको जमघट बढ्ने गरेको स्थानीयबासी बताउँछन्। 

मान्छे नबस्ने भएपछि वरपरका किसानहरुले त्यहाँ भैंसी, गाई, गोरु  बाँध्ने गरेका छन्। कतै परालका कुन्यु लगाइएको छ। खानेपानीका लागि निर्माण भएको पानीट्यांकी टुटफुट भएको छ। बोरिङ्गमा लगाइएको समरसेवल मोटर पनि चोरहरुले झिकेर लगेको स्थानीयको भनाइ छ। 

नमूना दलित बस्तीका घरहरु प्रायजसो जस्ताले छाएका छन्। अत्यन्त पातलो जस्ता लगाएकोले प्राय सबैजसो छाना चुहिन्छ। छानाका जस्ताहरुमा यत्रतत्र ठूल्ठूलो प्वाल परेको छ। वर्षा हुँदा घरभित्र पानी जम्छ। निर्माण कम्पनी गुञ्जा कन्सट्रक्सनले निर्माण गरेको यो घर अत्यन्तै कमजोर रहेको बताइन्छ। 

भित्ताहरु चर्किसकेका छन्। दुई तला भनेर निर्माण गरिएको घरहरुमा फलामको भ¥याङ्ग बनाइएको छ तर माथिल्लो तलामा हाल्नु पर्ने प्लाइवुडको फल्याक नै राखिएको छैन। हरेक वर्ष वर्षामा यी घरहरुको केही भाग ढल्दैछ। झ्यालका सिसा , विद्युतका संरचना धेरै टुटफुट भएको छ। घरभित्र विषालु सर्पले आश्रय लिएको छ। नमूना दलित बस्ती प्रयोग मै नआई भग्नावशेषमा परिणत हुँदै गएको स्थानीयको गुनासो रहेको छ। स्थानीयका अनुसार यो स्थान अहिले दुव्र्यसनीहरुको जमघट थलो भएको छ। 

स्थानीय दलित गरिब परिवारहरु दलित नमूना बस्तीकै छेउछाउमा स–साना झुप्रो हालेर बसेका छन् तर नगरपालिकाले निर्माण गरिदिएको घरमा बस्दैनन् । बस्तीको आडैमा झुप्रो हालेर बसेका सरतिा देवी सदा भन्छिन्, ‘त्यो घरमा बसेर मर्नु छ र ? कुनबेला गल्र्याम्म ढल्छ थाहा छैन। हातैले कोट्याउँदा पनि भित्ता उक्किन्छ। छाना चुहिएर भित्रै पानी जम्छ। कसरी बस्नु त्यो घरमा? त्यो दलितलाई सोधेर सल्लाह गरेर बनाएको घर नै होइन। टौवा हालेजस्तो घर बनाइ दिएका छन् अनि को बस्न मान्छ?’

विगत ३ महिनादेखि नमूना दलित बस्तीमा आश्रय लिएका घरवारविहीन दलित श्याम कुमारी राम भन्छिन्, ‘तीन महिना बसियो यो घरमा। वर्षा लाग्यो अब बस्न सकिदैन। बरु त्रिपाल टाँगेर बसौला तर यहाँ बस्न सकिदैन। पातलो जस्ता छ, घामले पोलेर उधुम हुन्छ । वर्षामा पानी चुहिन्छ । घरै ढलेर किच्ला भन्ने डर हुन्छ।’  

स्थानीय दलित रामचन्द्र पासवानको पनि उस्तै गुनासो रहेको छ। ‘यहाँ कसरी बस्नु? करेसा लगाउने ठाउँ छैन। एकान्त निर्जन स्थानमा घर छ। जीविका चलाउने कुनै उपाय छैन। ज्याला मजदुरी पाइदैन। अनि यो निर्जन ठाउँमा के गरेर पेट पाल्ने ? बस्ती बसाए पछि जीविका चलाउने उपाय पनि दिनुपर्छ नी!’ 

सिरहाका नेकपा माओवादीका नेता रामचन्द्र सिंह पनि उक्त घरहरु दलितका लागि नबनाइएको बताउँछन्। उनले उक्त घरहरु निर्माण गर्दा ठूलो भ्रष्टाचार भएको भन्दै त्यसको छानबिन गर्न माग गर्छन्।  

‘यो घरहरु दलितका लागि बनाइएकै होइन। तराई मधेस समृद्धि कार्यक्रमबाट आएको साढे दुई करोड रकम कंक्रिटमा फसाएर नाफा कमाइएको हो। दलितका बस्ती बनाउँदा दलितहरुसँग छलफल नै गरिएन। जसरी पनि रकम खर्च गर्नु पर्ने थियो गरियो। यो भवन बनाउँदा ठूलो भ्रष्टाचार भएको छ। यसको छानबिन हुनुपर्छ। आवश्यकता र माग नै नभई निष्प्रयोजन भवन बनाएर रकम खर्च गरिएको छ। यसबारे पनि छानविन हुनुपर्छ।’ 

यस सम्बन्धमा पूर्व मेयर देवनाथ साहसँग सोध्दा उनले भने हामीले त नजिकैको भांगवारी, मुसहर्नियाँ र लालपुर गाउँका दलितहरुलाई लक्षित गरेर पक्की भवन बनाइदिएको तर कोही पनि बस्न नमानेको बताउँछन्। त्यस्तै सबैले दलितहरुलाई उक्त भवनमा गएर बस्न प्रेरित गर्न आवश्यक रहेको उनी बताउँछन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १२:२४
Weather Update