News Griha :: न्यूजगृह
तराईमा सुख्खा मौसमले दूध उत्पादनमा कमी

मकवानपुर— सुख्खा मौसमले तराईमा दूध उत्पादन घट्दा हेटौँडा दुग्ध वितरण आयोजनाको दूध सङ्कलन प्रभावित भएको छ। 

सो आयोजनाले केही महिना अघिसम्म तराई क्षेत्रबाट दैनिक २२ देखि २३ हजार लिटरसम्म दूध सङ्कलन गर्दै आएको थियो। 

सोही अवधिमा विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार लिटर दूध पठाउँदै आएको थियो। 

हाल दैनिक छ हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ। सङ्कलित दूध वीरगञ्ज, हेटौँडा र भरतपुरका उपभोक्ताले दैनिक चार हजार लिटर खपत गर्ने गरेको आयोजनाले जनाएको छ।

मधेस प्रदेशको सर्लाही, बारा, रौतहट, पर्सा र बागमतीको मकवानपुरसमेत गरी करिब दुई सय दूध उत्पादक सहकारी संस्थाबाट आयोजनाले दैनिक दूध खरिद गर्दै आएको छ। आयोजनाले तराईका चार जिल्ला र बागमतीको मकवानपुर गरी करिब १२ हजार कृषकबाट दैनिक छ हजार लिटर दुध खरिद गरी मासिक एक करोड ५० लाख रकम भुक्तानी दिने गरेको हेटौँडा दुग्ध वितरण आयोजनाका प्रमुख राजिव खनालले जानकारी दिए।

आयोजनाले दैनिक एक हजार लिटर दही, एक हजार किलो घ्यू, एक हजार पाँच सय किलो मखन उत्पादन गर्छ। लालमोहन, पेडा र रसवरी छ सय किलो उत्पादन गर्दै आएको छ। उत्पादित दही, घ्यू, मखन र मिठाइहरु आयोजनाले हेटौँडा, वीरगञ्ज र भरतपुरका उपभोक्तालाई बिक्री गर्ने गरेको आयोजनाले जनाएको छ।

हेटौँडा दुग्ध वितरण आयोजनाले बागमती प्रदेशको दूध विकास बोर्ड हेटौँडालाई धुलो दूध उत्पादन गर्न दुई देखि तीन दिनको अन्तरमा दुई हजार लिटर दूध पठाउने गरेको छ। बोर्डलाई दूध नपठाइएको दिनमा दुई हजार लिटर दूध आयोजनाले दही, मखन, घ्यू उत्पादनका लागी खपत गर्दै आएको आयोजना प्रमुख खनालले जानकारी दिए।

तराईमा  बर्षात भएसँगै केही दिन पछिबाट दूध उत्पादन वृद्धि हुने आयोजनाको भनाइ छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १८:४९
Weather Update