News Griha :: न्यूजगृह
महानगरले लोकल मदिरालगायतका पेय पदार्थको ब्राण्डिङ गर्ने

काठमाडौं— काठमाडौं महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ। नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका रुपमा समेत प्रयोग हुने गरेको छ।

जन्म-मृत्युबीचका संस्कार तथा शुभकार्य, जात्रा पर्व, पाहुना आउँदा वा बिदाइ गर्दा आफैँले उत्पादन गरेको पेय पदार्थ (ऐला, ठोँ) लाई गुणस्तरीय मानिन्छ। यसरी उत्पादन हुने पेय पदार्थको गुणस्तरीयतालाई ब्राण्डिङ गरेर विश्व समक्ष पुर्‍याउने सम्भावनालाई अध्ययनबाट हेर्न लागिएको हो। 

कार्यक्रमलाई सहकारी विभागले अगाडि बढाएको हो। यसरी अगाडि सारिएको कार्यक्रमलाई नेवाः समुदायभित्रका विभिन्न गुठी तथा संघ संस्थाका प्रतिनिधिहरुको प्रतिक्रिया बुझ्न र यस सम्बन्धी सूचना संकलन गर्न आज छलफल कार्यक्रम आयोजना ग¥यो। 

‘मदिरा ऐनले यस्ता वस्तुको प्रवर्द्धन रोकेको छ। यसरी रोक्नुको अर्थ अध्ययन गर्न नपाउनु भन्ने होइ।’ छलफलमा महानगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘अध्ययनबाट आर्थिक, सामाजिक, सांस्कृतिक जस्ता पहिचान बढाउन सहयोग पुग्ने देखियो भने कानुनी व्यवस्था संशोधन गरेर भए पनि सम्भावनालाई नतिजामा रुपान्तरण गर्नुपर्छ।’

पुस्ताले व्यवहारिक शिक्षाका रुपमा हस्तान्तरण गर्दै आएको पेय पदार्थ उत्पादन गर्ने विधिलाई अभिलेखन गर्न आवश्यक छ। यसो नहुँदा स्तरीय उत्पादनका लागि पुर्खाले प्रयोग गरेको सिप थाहा हुँदैन। उनले संस्कृतिसँग जोडिएको उत्पादनका प्रक्रियालाई पुस्तान्तरण गर्ने काममा अध्ययनले सहयोग गर्ने बताए। 

छलफलमा ज्यापू महागुथि नेपा, महानगर समिति, गुंलाबाजं संरक्षण तथा व्यवस्थापन समिति, नेपाल खड्गी सेवा समिति, नेपाल राष्ट्रिय खड्गी समाजअन्तर्गतका विभिन्न गुथि खलःका प्रतिनिधिहरु सहभागी थिए। 

उनीहरुले पेय पदार्थ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ, उत्पादन प्रक्रिया, मात्रा, समयावधि, भण्डारण विधि, प्रयोग विधिलगायतका विषयमा जानकारी दिँदै, महानगरपालिकाले अगाडि सारेको कार्यक्रमले नेवाः सभ्यता अन्तरराष्ट्रियकरण हुनमा ठूलो योगदान हुने प्रतिक्रिया दिए।

छलफलमा सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले स्थानीयको भावना र अध्ययनले देखाउने आवश्यकता विश्लेषण गरेर आगामी दिनका कार्यक्रम सञ्चालन गरिने बताए। विभागका दर्ता प्रवर्द्धन महाशाखा प्रमुख सन्तु श्रेष्ठका अनुसार आफैँ प्रयोग गर्न प्रयोजनका लागि मादक पदार्थ उत्पादन गर्न पाइने व्यवस्था छ। यस्तो उत्पादन बेचबिखन गर्न भने पाइँदैन। ‘यस्तो अवस्थामा रहेको स्थानीय पेय पदार्थको उत्पादन तथा गुणस्तर कायम राख्ने रैथाने विधिको अध्ययन थालिएको छ ।’

समुदायले सांस्कृतिक प्रयोजनका लागि उत्पादन गरेका वस्तुको मात्र अध्ययन हुनेछ। कार्यक्रमका बारेमा जानकारी दिँदै स्मार्टसिटी विज्ञ विज्ञान घिमिरे भने, ‘पेय पदार्थ उत्पादन गर्ने तरिका, समय, उत्पादनका लागि प्रयोग गरिने भाँडाकुँडा, ताप तथा उर्जा, कच्चा पदार्थ, उत्पादित बस्तुको भण्डारण, प्रयोगको मात्रा, उपभोक्तालगायतका विषयमा अध्ययन हुनेछ। यसका लागि गुथिहरुको पेय पदार्थ उत्पादन गर्ने ठाउँमा गएर विधिको अध्ययन हुनेछ। नमूना संकलन गरेर मात्राको तथा गुणको परीक्षण गरिनेछ।’ 

ब्राण्डिङको कामलाई विभिन्न चरणमा अगाडि बढाउने योजना छ। पहिलो चरणमा विद्यमान अवस्थाको अध्ययन हुनेछ। यो काम सुरु भइसकेको छ। यसबाट कुन ठाउँमा कसले बनाएको उत्पादन कुन कुन प्रयोजन (शुभ कार्य, औषधि, पिउन) का लागि ब्राण्डिङ गर्न सकिन्छ भन्ने थाहा हुनेछ। यसपछि कानुनी व्यवस्था तर्जुमा गर्ने र यसका आधारमा मूल्य, कर र प्रयोजन निर्धारण गरिनेछ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १८:२३
Weather Update