काठमाडौं— अविरल वर्षासँगै तराईमा बाढी र पहाडमा पहिरोको कहर सुरु भएको छ। बाढि र पहिरोको कारण वितेको २४ घण्टामा मात्र सयौं जना विस्थापित भएका छन् भने ९ जनाको मृत्यु भएको छ।
गुल्मी, गुल्मीमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ।
मालिका गाउँपालिका–६ कँडेलपाटामा भेषबहादुर विकको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले बताए।
पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर, ४८ वर्षीया श्रीमती सुन्तली, बुहारी २६ वर्षकी सीता, नातिनीहरू ८ वर्षकी सपना र ८ महिनाको बिपनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्याङ्जा, स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ। गएराति स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बाङ्गेमा पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको हो।
पहिरोमा परेर आमा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसाको मृत्यु भएको प्रहरी सहायक निरीक्षक अमृत भुजेलले जानकारी दिए। ‘राति सुतेका बेला पहिरो खसेको हो,’ उनले भने।
घटनाका बेला आमा र छोरी मात्र घरमा रहेका र छोरो गाउँमा आफन्तकहाँ बास बस्न गएकाले उनको ज्यान जोगिएको उनले बताए।
पहिरोले ढुङ्गामाटो र जस्तापाताले छाएको एक तले घर र घरनजिकै रहेको गोठ पुरिएको छ। पहिरोमा परी एउटा भैँसी पनि मरेको प्रहरीले जनाएको छ।
पहिरोले घर पुरिँदा ज्यान गुमाएका परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयले आर्थिक सहयोग गरेको छ।
बागलुङ, बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।
उक्त घटनामा दुईजना घाइते भएका छन्। गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो।
पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।
अहिले घटनास्थलमा प्रहरी टोली पुगेर उद्धारमा जुटेको छ। शनिबार बिहान ३ बजे पहिरो गएको गलकोट नगरपालिका–८ का वडासदस्य लोकनाथ कँडेलले बताए। घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ।
पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोर अबरुद्ध
बागलुङ, भीषण वर्षासँगै खसेको पहिरोले दुईवटा राष्ट्रिय राजमार्ग अबरुद्ध भएका छन्। मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्ड अबरुद्ध भएका हुन्।
कालीगण्डकी करिडोर अन्तर्गतको बागलुङ नगरपालिका–१० दब्ल्याङमा बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए।
मध्यपहाडी राजमार्गअन्र्तगत बागलुङका विभिन्न स्थानमा पहिरो खस्दा बाटो अबरुद्ध भएको छ।
मध्यपहाडी राजमार्गको काठेखोला गाउँपालिका–६ इनारपानी, गलकोट नगरपालिका–३ बतासे डाँडा, गलकोट नगरपालिका–९ गल्याङ र बडिगाड गाउँपालिका–२ हाँडीखोलामा पहिरोले पूर्ण रूपले सडक अबरुद्ध भएको छ।
पहिरोका कारण बागलुङ– कुश्मीशेरा सडकको दव्ल्याङ खण्ड पनि अबरुद्ध भएको छ। बाटो खोल्ने प्रयास जारी रहेको सूचना अधिकारी यादवले बताए।
नवलपरासी, नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्ने क्षेत्रमा पहिरो जाँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। दाउन्ने खण्डमा तीन ठाउँमा पहिरो जाँदा गएरातिदेखि सडक अवरूद्व भएको हो।