रौतहट— ओभरटेक गर्दा रौतहटको सदरमुकाम गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। ८ यात्रु घाइते छन् ।
गौरबाट भैरहवा तर्फ गइरहेको ना७ खं ८४१४ नम्बरको बस जयनगर चोकमा शनिबार बिहान ८ बजे आफै अनियन्त्रित भई दुर्घटना हुँदा माधवनारायण नगरपालिका–३ भेल्हीका शैलेन्द्र कुमार गिरीको १८ वर्षीया छोरी नेहाकुमारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी रामेश्वर त्वातीले बताए।
दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेर उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको छ।
एकजना यात्रु २६ वर्षीया रञ्जुदेवी दासको दाहिने हात भाँचिएको हुँदा उनको उपचार ग्राण्डी अस्पताल गरुडामा भइरहेको जिल्ला प्रहरी प्रवक्ता एवं डीएसपी एलिजा गिरीले बताएकी छन्।
अन्य सात जना घाइतेको शिवनगर र गरुडामा उपचार भइरहेको छ। दुर्घटना पछि बसका चालक र सहचालक फरार छन्। दुर्घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार तीव्रगतिमा रहेको बसले अर्को गाडीलाई ओभरटेक गर्दा अगाडिको दाहिने चक्का खाल्डोमा परेर बस पल्टिएको बताएका छन्।