News Griha :: न्यूजगृह
एसईईमा एनजीमा परेका विद्यार्थीहरुले पनि मौका परीक्षा दिन पाउने 

काठमाडौं— माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दुईभन्दा बढी विषयमा ननग्रेडिङ (एनजी) ल्याउने विद्यार्थीहरु पनि मौका परीक्षामा सहभागी हुन पाउने भएका छन्। 

शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीस्तरीय निर्णयबाट एनजी ल्याउने विद्यार्थीहरुले पनि मौका परीक्षा दिन पाउने भएका हुन्। 

यसअघि दुई भन्दा बढी विषयमा फेल भएका विद्यार्थीहरुले तत्काल मौका परीक्षा दिन नपाउने भएकोमा त्यसको चौतर्फी आलोचना भएपछि मन्त्रालयले व्यवस्था गरेको हो। 

शिक्षामन्त्री सुमना श्रेष्ठले धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गर्न बिहीबारदेखि छलफल अघि बढाएर शुक्रबार निर्णय गरेकी हुन्। 

त्यस्तै मन्त्रालयले एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्ने प्रकृया अगाडि बढाउन पाठ्यक्रम विकास केन्द्रलाई, परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन व्यवस्थापन गर्न र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक कक्षा सञ्चालन तथा सिकाइ सहजीकरण गर्न विद्यालय तथा सरोकार निकायलाई निर्देशन दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिए। 

‘एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने भन्ने मन्त्रीस्तरीय निर्णय भएको छ। त्यहीअनुसार हामीले सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशनसहित पत्राचार गरिसकेका छौं,’उनले भने। 

बिहीबार सार्वजनिक भएको एसईईको नतिजा अनुसार २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेड (एनजी) मा परेका थिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  २०:००
Weather Update