कास्की— पहिरोले घर पुरिएर ज्यान गुमाएकी कास्कीको मादी गाउँपालिका–५ की आयुष्मा रानाभाटको परिवारलाई जिल्ला प्रशासन कार्यालय कास्कीले राहत उपलब्ध गराएको छ।
पहिरो पीडित आयुष्माको परिवारलाई बिहीबार जिल्ला विपद् व्यवस्थापन कोषबाट दुई लाख हस्तान्तरण गरिएको हो।प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे नेतृत्वको टोलीले घटनास्थलमै पुगी राहत प्रदान गरेको हो।
विपद्मा परी मृत्यु भएका व्यक्तिलाई राहत उपलब्ध गराउनेसम्बन्धी मापदण्ड, २०७७ बमोजिम रकम हस्तान्तरण गरिएको प्रजिअ पाण्डेले बताए।
मंगलबार राति पहिरोले घर पुरिँदा १३ वर्षे आयुष्माको घटनास्थलमै मृत्यु भएको थियो। सँगै सुतेकी हजुरआमा ७० वर्षे लालमाया वञ्जारको भने सकुशल उद्धार गरिएको थियो।
मङ्गलबार राति नै पोखरा महानगरपालिका–२७ आरुपाटाको पहिरोमा परी ज्यान गुमाएका तीन वर्षीय अनमोल सुनारको परिवारलाई कागजात आउने वित्तिकै राहत उपलब्ध गराउने प्रजिले पाण्डेले बताए।
अनमोलकी आमा रितु सुनारको गण्डकी मेडिकल कलेजको आइसीयुमा उपचार भइरहेको छ। प्रजिअ पाण्डेसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीको टोलीले अस्पताल पुगी उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको छ। समितिको आग्रहमा रितुको उपचार अस्पतालले निःशुल्क गरिदिने भएको प्रजिअ पाण्डेले जानकारी दिए।
कास्कीमा बाढीपहिरोको उच्च जोखिम रहेकाले सतर्क रहन प्रशासनले आग्रह गरेको छ। राहत र उद्धारका लागि टोली सतर्क अवस्थामा राखिएको प्रशासनले जनाएको छ।