काठमाडौं— देशका केही स्थानमा भारी वर्षा भइरहेको छ। काठमाडौंलगायत केही स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ।
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षा भइरहेको छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणदेखि पूर्णतया बदली छ। बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी र गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
‘काठमाडौंमा गएरातिदेखि नै पानी परिरहेको छ। अहिलेसम्म सामान्यदेखि हल्का वर्षा भएको छ,’ मौसमविद् प्रतिभा मानन्धर भनिन्, ‘दिउँसो केही समय पानी रोकिए पनि फेरि पर्ने हुन्छ।’
साँझ पुनः हल्कादेखि मध्य वर्षा भए काठमाडौंमा भारी वर्षा मापन हुने सम्भावना रहेको उनको भनाइ छ।
‘काठमाडौंमा आज जस्तै शनिबार र आइतबार पनि वर्षा हुनेछ। आजभन्दा तुलनात्मक रूपमा भोलि बढी वर्षा हुनसक्छ।’ आजबाट सक्रिय हुन सुरु भएको प्रणाली कम्तीमा दुई दिन जारी रहने उनको भनाइ छ।
देशभर नै वर्षा हुने भनिएका स्थानमा केही समय रोकिँदै पानी पर्दै गर्ने मौसमविद् मानन्धरको भनाइ छ। ‘केही समय वर्षा रोकिएर खुलेजस्तो भए पनि पुनः पानी पर्न थाल्छ,’ उनले भनिन्, ‘अबको तीन यो प्रणाली सक्रिय रहँदासम्म यस्तै हुनेछ।’
विभागले राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने बताएको छ। बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना छ। बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ।