News Griha :: न्यूजगृह
ऋद्धिसिद्धि सिमेन्टद्वारा ’मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर’ छात्रवृत्ति कार्यक्रमको पुनः घोषणा

काठमाडाैं— ऋद्धिसिद्धि सिमेन्टले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर– २०८१’ को छात्रवृत्ति कार्यक्रम पुनः सञ्चालनमा ल्याएको छ।

छात्रवृत्ति अन्तर्गत २०८० मा परीक्षा दिएको र २०८१ सालमा नतिजा प्राप्त भई एसईईमा उत्तीर्ण भएका मकवानपुर जिल्लाका सम्पूर्ण विद्यार्थीलाई लक्षित गरी एसईई परीक्षामा ३.५ देखि ४ जीपीए ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा सहभागिताका लागि योग्य मानिने छ।

गत वर्ष आयोजना  गरिएको ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द एअर २०८०’ छात्रवृत्ति कार्यक्रममा कुल ११ विद्यार्थी लाभान्वित भएको कम्पनीले जनाएको छ। ‘पछिल्लो वर्षको छात्रवृति कार्यक्रमको भव्य र सभ्य सफलता पश्चात यस २०८१ सालमा थप ४ विद्यार्थीको सङ्ख्यामा वृद्धि गरी कुल १५ जना स्मार्ट विद्यार्थीलाई मकवानपुरकै उत्कृष्ट छात्रवृत्ति प्रदान गरिने छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा ५ हजार, दोस्रो हुनेलाई ३ हजार ५ सय र तेस्रो हुनेलाई २ हजार ५ सय तथा सान्त्वना स्वरुप थप १२ विद्यार्थीलाई मासिक रुपमा १ हजार ५ सय रुपैयाँ कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ। 

यस छात्रवृत्ति कार्यक्रममा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेबसाइट वा फेसबुक पेजमा उल्लेखित गरिएको क्यूआर कोडमा स्क्यान गरी फारम भर्न सक्नेछन्। आवेदकको फारम बुझाउने अन्तिम मिति असार २३ गतेसम्म तोकिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  २१:४०
Weather Update