News Griha :: न्यूजगृह
देशभर भोलिदेखि तीन दिन वर्षा हुने, केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं— नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीबार साँझ महाशाखाले शुक्रबारदेखि आगामी केही दिनमा मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भएर सरदर स्थानभन्दा उत्तरतर्फ रहने देखिएकाले मनसुन थप सक्रिय हुने सम्भावना रहेको जनाएको हो

महाशाखाको मनसुन विशेष मौसम बुलेटिनमा मनसुनी वायुको प्रभावका कारण भोलिदेखि आइतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रहेर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ।

महाशाखाका अनुसार गण्डकी प्रदेशका केही स्थानमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा तथा मधेस र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।

महाशाखाले शुक्रबारदेखि आइतबारसम्म तीन दिन मेघगर्जन र चट्याङ, भारी वर्षा, भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

यस्तै, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजिवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने बुलेटिनमा उल्लेख छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  २१:०३
Weather Update