News Griha :: न्यूजगृह
गृहमन्त्रीलाई सांसद खतिवडाको आग्रह- विपद्का फाइलतिर पनि ध्यान जाओस्  

काठमाडौं— प्रतिनिधिसभामा सांसदहरुले मनसुनजन्य विपद्का घटनामा तत्काल नागरिकलाई राहत र उद्दार पुर्याउने प्रभावकारी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोलेका सांसदहरुले बाढी, पहिरो र चट्याङ्जस्ता प्राकृतिक विपत्तिमा परी देशभरी धनजनको क्षति भैरहेको उल्लेख गर्दै प्रभावकारी रुपमा नागरिकलाई राहत दिनुपर्ने र उद्दार गर्नुपर्नेमा जोड दिएका हुन्। 

बैठकमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले खानेपानी, विद्युत्, सडक लगायतका क्षेत्रमा प्राकृतिक विपद्बाट धेरै जनधनको क्षति भएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए।

उनले एक वर्ष अगाडि ओखलढुंगामा असारमा गएको बाढी पहिरोमा परी १५० भन्दा धेरै घरधुरीका स्थानीय विस्थापिन हुन पुगेको स्मरण गराउँदै एक वर्षसम्म उनीहरुले व्यवस्थापन हुन नसकेको बताए। 

उनले गृहमन्त्री रवि लामिछानेलाई पुनर्बासको व्यवस्था गर्न जोड दिँदै व्यङ्ग्यात्मक शैलीमा भने, ‘एक वर्ष अगाडि ओखलढुंगा, ताप्लेजुङ लगायतका जिल्लामा भएका विपद्का फाइलहरु गृह मन्त्रालयमा थन्किएर बसेका छन्। म गृहमन्त्रीलाई अनुरोध गर्छु तपाई फाइल धेरै हेरिरहनुभएको छ विपद्का फाइलहरुमा पनि ध्यान जाओस्।’

त्यस्तै नेकपा एमालेका सांसद मानवीर राईले देशभर बाढी र पहिरो गइरहेको भन्दै ख्याल गर्न सरकारलाई आग्रह गरे।

राईले भने, ‘जिल्लामा गएको बाढी पहिरोको कारण सोलुखुम्बुको सदरमुकाम सल्लेरी, नाम्चे, खुम्बु हुँदै थामडाँडासम्म जाने बाटो दूधकोशी नदीको ओर्लाङघाटमा अवरुद्ध भएको, यस्तै नेचा सल्याण गाउँपालिका २ मा गएको पहिरोले केराबारीमा सर्वधन राईको घर, थुलुङ दूधकोशी –६ मा भिमबहादुर माझी, थुलुङ दूधकोशी –२ मा पनि २ जनाको घर पहिरोले बगाएको उल्लेख गर्दै पीडित परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग आग्रह गर्छु।’ 

यस्तै, माओवादी केन्द्रका सांसद अमनलाल मोदीले मोरङ जिल्लामा भएको भारी वर्षाको कारण विराटनगरलगायतको स्थान डुवानमा परेको उल्लेख गर्दै सरकारले उद्दारमा ध्यान नदिएको गुनासो गरे। जलमग्न बनेको विराटनगरमा राहत र उद्दार कार्यलाई तिव्रता दिनुपर्नेमा उनको जोड छ। ‘सरकारले तुरुन्त उद्दार गर्नुपर्यो कुरा मात्रै गरेर भएन, डुवानमा परेकालाई राहत दिनुपर्यो,’ मोदीले भने। 

नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले चट्याङको अर्लट नहुँदा नागरिकले ज्यान गुमाइरहेको बताइन्। उनले सरकारको त्यसतर्फ ध्यानाकर्षण गराउँदै भनिन्, ‘मनसुनको बेलामा बाढी पहिरो आउन लाग्यो भनेर अलर्ट गराइन्छ चट्याङ पर्न थाल्यो भनेर नागरिकलाई कसरी अलर्ट गराउने?’ 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १२:३३
Weather Update