News Griha :: न्यूजगृह
नेपालगञ्जमा महिला क्याम्पस स्थापना
सांकेतिक तस्बिर

खजुरा— यहाँका महिलाहरु उच्च शिक्षाको अवसरबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नेपालगञ्जमा महिला क्याम्पस स्थापना गरिएको छ। विशेष गरी मधेसी र मुस्लिम समुदायका किशोरीलाई लक्षित गरी स्थापित ‘मङ्गलप्रसाद महिला कलेज’ मा अध्ययन गर्न आउनेको आकर्षण बढेको छ।

करिब पाँच करोडको लागतमा ४० कोठे भवन निर्माण गरी पठनपाठन सञ्चालन गरिएको कलेजका प्रमुख रवीन्द्रकुमार कर्णले बताए। उनका अनुसार महिला कलेजमा छात्राबासको व्यवस्थासमेत गरिएको छ। कलेजले अहिले बीबीएस, चार वर्षे बीएड र बीएससीका कक्षा सञ्चालन गर्दै आएको छ। 

पूर्वाञ्चल विश्व विद्यालयसँग सम्बन्धन प्राप्त कलेजले न्यूनतम शुल्कमा गुणस्तरीय र किशोरीमैत्री वातावरणमा अध्ययपन गराउँदै आएको प्रमुख कर्णले बताए। एक सय ३० किशोरी विभिन्न सङ्कायमा अध्ययन गरिरहेका छन्। कलेजले लगनशील, गरिब तथा अति विपन्नलाई छात्रवृत्ति प्रदान गरेको भन्दै विशेष गरी मधेसी र मुस्लिम समुदायका किशोरी रहेका उनले जानकारी दिए।  

मङ्गलप्रसाद माध्यामिक विद्यालयले भाडामा दिएको १४ कठ्ठा जमिनमा निर्माण गरिएको उक्त कलेज सञ्चालनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले व्यवस्थापन गर्दै आएको छ। कलेज सञ्चालनमा आएपछि नेपाली छात्रालाई भारतलगायत छिमेकी मुलुक गएर अध्ययन गर्नुपर्ने बाध्यता अन्त्य भएको छ। 

नमुना बन्यो नेपालगञ्ज कन्या मावि  

नेपालगञ्ज उपमहानगरपालिका–४ सल्यानीबागस्थित आधारभूत विद्यालयलाई कुनै बेला एक सय विद्यार्थी पाउन मुस्किल थियो। गुणस्तरीय शिक्षा नभएको भन्दै अभिभावकले आफ्ना बालबालिकालाई भर्ना गर्न रुचाउँदैनथ्ये। भर्ना भएका विद्यार्थी पनि नियमितरूपमा विद्यालय आउँदैनथे। घरदैलोमा पुगेर आग्रह गर्दा पनि विद्यार्थी नआएपछि हैरानी बोर्होनुपरेको शिक्षक बुधेशकुमार जयसवालले विगतलाई स्मरण गर्दै बताए। ‘विद्यार्थी नपाएर विद्यालय सञ्चालनमा समस्या थियो। कक्षा मर्ज (एउटै बनाएर) गरेर पठनपाठन गराउनुपर्ने बाध्यता थियो ,’ उनले भने। 

शैक्षिक सत्र २०७४–७५ मा बाल विकासदेखि कक्षा ८ सम्म पढाइ हुने सुनाउँदै पूर्वप्रधानाध्यापक भइसकेका शिक्षक जायसवालले तत्कालीन समयमा ९० जनासम्म विद्यार्थी हुने गरेका बताए। उनका अनुसार अहिले विद्यालयमा छ सय भन्दा बढी विद्यार्थी भर्ना भएर अध्ययन गरिरहेका छन्।

विद्यालयमा सुधार

विद्यार्थी नपाउने समस्या भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले उक्त विद्यालयलाई कन्या मावि बनाउने निर्णय गरेको हो। त्यसका लागि पूर्वाधार निर्माण गर्ने र सुधारका लागि विज्ञ नियुक्त गरिएको उपमहानगर कार्यालयले जनाएको छ।

‘नेपालगञ्जमा कन्या माविको आवश्यकता महसुस गरी उक्त विद्यालयको नाम नेपालगञ्ज कन्या माध्यमिक विद्यालय नामकरण गर्यौँ,’ पूर्वउपप्रमुख उमा थापा मगरले भनिन्, ‘कन्या मावि बनाएपछि विद्यार्थीको सङ्ख्या बढ्नुका साथै शैक्षिक सुधारसमेत भएको छ।’
 
विद्यालयको शैक्षिक सुधारका लागि उपमहानगरले सेवा निर्वित शिक्षिका किरण आचार्यलाई विज्ञको रूपमा नियुक्त गरेको भन्दै आचार्यले विद्यालय सुधारका लागि योजना बनाउनुभएको उनको भनाइ छ।  

सोही योजनाअनुसार उपमहानगरले विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई परिचालन गरेको हो। विद्यार्थी नपाएर फुर्सदमा रहेका शिक्षक अध्ययन अध्यापनमा व्यस्त हुँदै गएका मगरको बुझाइ छ। 

‘विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान हुन थालेपछि अभिभावकले आफ्ना छोरीको भर्ना यही गर्न थाल्नुभयो, अहिले विद्यालय नेपालगञ्जको नमुनाका रुपमा चिनिएको छ,’ उनले भनिन्। 

विद्यार्थीलाई आकर्षित गर्न पहिलो चरणमा उपमहानगरले हरेक महिना एक लिटर खाने तेल वितरण गरेको थियो। भर्ना भएका विद्यार्थीलाई नियमित रूपमा विद्यालय ल्याउन साइकल वितरण गरिएको पूर्वउपप्रमुख थापाले जानकारी दिइन्। 

‘साइकल चलाउन सक्ने कन्यालाई साइकल र सानालाई झोला वितरण गर्र्यौँ,’ उनले भनिन्, ‘व्यावहारिक शिक्षाका लागि विद्यालयले छात्रालाई कपडा सिउने सीप पनि दिएको छ।’ 

विसं २०२२ जेठ २९ गते स्थापना भएको विद्यालयलाई शैक्षिक सत्र २०७६–७७ देखि कन्या माविका रुपमा सञ्चालन गरिएको हो। कक्षा १ देखि १२ कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा सबै बालिका मात्र अध्ययनरत छन्। 

उक्त विद्यालयको विसं २०२५ फागुन ७ गते तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेका थिए। ‘पुरानो विद्यालय भए पनि मधेसी र मुस्लिम समुदायको बाक्लो बस्ती भएकाले बालिका विद्यालय जान सकिरहेका थिएनन्। उपमहानगरले कन्या माविका रूपमा सञ्चालन गरी शिक्षामा सुधार ल्याएपछि विद्यार्थीको सङ्ख्या बढेको छ,’ विज्ञका रूपमा रहेकी आचार्यले भनिन्। उनका अनुसार यहाँ अध्ययनरतमध्ये ७० प्रतिशत बालिका मुस्लिम समुदायका छन्। 

सानोदेखि ठूलो कक्षामा अध्ययनरत धेरैजसो मुस्लिम समुदायका बालिका रहेको शिक्षिका गोमा पोखरेलले बताइन्। ‘फाटफुट रूपमा मधेसी, थारू र अन्य समुदायका भए पनि अधिकांश मुस्लिम समुदायका बालिका अध्ययनरत छन्,’ उनले भनिन्। उनले मुस्लिम समुदायमा आफ्ना छोरीलाई सुरक्षित राख्ने संस्कार भएकाले कन्या मावि भएपछि छोरीलाई विद्यालय पठाउन थालेका बताइन्।

कन्या मावि स्थापना भएपछि छोरीहरू सुरक्षित हुने भएकाले विद्यालय पठाएको अभिभावक बताउँछन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १४:३६
Weather Update