News Griha :: न्यूजगृह
मापदण्ड पूरा नगरी खोलिएका रिहाव सेन्टरमा ताला लगाउने गृहमन्त्रीको चेतावनी
फाइल तस्बिर

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मापदण्ड पूरा नगरी खोलिएका रिहाव सेन्टरहरुमा मन्त्रालयले ताला लगाउने चेतावनी दिएका छन्। 

बुधबार काठमाडौंमा आसरा सुधार केन्द्रले ‘लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको २०२४’ को अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपचार गर्ने नाममा महंगा होटेल चलाएको जस्तो गरेर मापदण्ड पूरा नगरी खोलिएका रिहाव सेन्टरहरुमा ताला लगाउने  बताएका हुन्। 

उनले भने, ‘व्यापार गर्न पाउने तपाईँको अधिकारको म सम्मान गर्दछु। तर ड्रग्समा डुबेकालाई उपचार गर्ने नाममा महंगा महंगा होटेल चलाएको जस्तो गरेर बिलमाथि बिल पठाएर मापदण्ड पूरा नगरेर भाषणहरुमा मात्र ठूला कुरा गर्नुभयो भने मन्त्रालयमा तपाईँका सेन्टरहरुमा लगाउने तालाहरु छन्। लगाउनका लागि हामी तयार हुन्छौँ। यो कुरा म एकदमै प्रष्ट गर्न चाहन्छु।’ 

उनले सुरक्षा निकायमा गैरकानुनी रुपले आफूले कुनै अर्डर नदिने भन्दै कर्तव्य निष्ठा भएर युवा युवतीलाई बिर्गान ड्रग्स सप्लाई गर्नेहरूलाई कुनै चान्स नदिई काम गर्नका लागि आग्रह गरे। सो अवसरमा गृहमन्त्री लामिछानेले लागुऔषध दुरुपयोग निर्मूलका लागि योजना लिएर आएमा मन्त्रालयबाट सबै सहयोगको लागि पहल गर्ने विश्वास दिलाए। 

‘मैले गृह मन्त्रालय सम्हालेपछि कुनै भागबन्डा चाहिँदैन र कुनै घुसको रकम चाहिँदैन। मलाई कुनै ठेक्का पट्टामा टेन्डर मिलाउनुपर्दैन। मलाई कुनै आफन्तहरूको भर्ति गर्नुपर्छ भन्ने छैन। तपाईँहरूको सरुवा बढुवा केहीमा पनि मलाई कुनै चासो छैन। वस! आफ्नो कर्तव्य पालना गर्नुहोस्। आफ्नो बर्दी जोगाउनुहोस्। यो देश र युवा जोगाउनुहोस्। मलाई केही चाहिँदैन्। कुनै गैरकानुनी अडर म दिने छैन। उनले भने, ‘मात्र कर्तव्य निष्ठ भएर काम गर्नुहोस्। जसले युवा युवतीलाई बिर्गान ड्रग्स सप्लाइ गरिरहेका छन् भने तिनिहरुलाई कुनै चान्स नदिनुहोस्। सबका सबलाई जेल कोच्नुहोस्। एक जनालाई पनि बाँकी नराखे निर्मूल पार्नुहोस्। यसको लागि योजना लिएर आउँनुहोस्। बजेट छैन भने म दिलाउँछु बजेट। कहाँकहाँ गुहार्नुपर्छ म गुहार्छु।’

उनले लागुऔषध दुरुपयोग निर्मूलको लडाइ बन्दुक नलिई लडिने लडाइ नभएको भन्दै यसका लागि मन्त्रालयले राष्ट्रिय नीति बनाएर कडाईकासाथ लागु गर्ने बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १३:२४
Weather Update