News Griha :: न्यूजगृह
कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु

काठमाडौं— कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जोशीपुर–३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका–१८ का २७ वर्षीय सालिम चौधरी छन्।

बुधबार बिहान चट्याङ पर्दा खेतमा काम गरिरहेका  डगौरा र चौधरीको चट्याङ लागेर मृत्यु भएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए। डगौरालाई बुधबार बिहान साढे ७ बजे खेतमा आली लगाइरहँदा चट्याङ लागेको थियो। आफन्तले स्थानीय महापार्वती क्लिनिकमा पुर्‍याउँदा उनको मृत्यु भएको बोहराले बताए।

त्यस्तै, चौधरीलाई बिहान ८ बजे आफ्नै घरनजिक खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेको थियो। उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएकोमा उपचारको क्रममा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङ लागेर अन्य ६ जना घाइते छन्।

घाइते हुनेमा कैलाली जानकी गाउँपालिका–४ बेलपुरकी २९ वर्षीया रिता कठरिया, २३ वर्षीया सुष्मा डगौरा, भजनी गाउँपालिका–६ का ५५ वर्षीय रामबहादुर चौधरी, घोडाघोडी नगरपालिका–९ बुदेनीकी ९ वर्षीया सरस्वती भुल, ७ वर्षीया पारु कठायत र २० वर्षीया खीमा कडायत रहेका छन्।     

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ११:२९
Weather Update