News Griha :: न्यूजगृह
क्याम्पस प्रमुखको हत्या आरोपमा ७ जना पक्राउ

काठमाडौं— बारामा गोली हानी क्याम्पस प्रमुखको हत्या गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

जेठ ३२ गते कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या भएको घटनामा सात जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दधिराम न्यौपानेले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

पक्राउ पर्नेमा बारा खजुरिया टोलका ३२ वर्षीय अवधलाल प्रसाद कुशवाहा, २९ वर्षीय चांदसी प्रसाद कुशवाहा, २७ वर्षीय चुल्हाई भन्ने श्रवण कुमार साह र ५० वर्षीय ब्रह्मदेव राम छन्।

त्यस्तै बाराकै ५० वर्षीय मोतीलाल चौधरी, ३४ वर्षीय राधेश कुमार पटेल र ५४ वर्षीय विनोद राउत कूर्म पक्राउ परेका हुन्।

उनीहरूका साथबाट तीनवटा मोटरसाइकल, ६ राउन्ड गोली, विभिन्न मोबाइल, ल्यापटप र नेपाली तथा भारतीय सिम कार्ड समेत बरामद भएको न्यौपानेले जानकारी दिएका छन्।

उनीहरूमाथि कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दा चलाउन बारा जिल्ला अदालतबाट ६ दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कुशवाहामाथि आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा गोली प्रहार भएको थियो। घर जाँदै गरेका उनीमाथि मोटरसाइकलमा आएका दुई जनाले पछाडिबाट गोली प्रहार गरेका थिए।

पिठ्युँमा गोली लागेको कुशवाहाको उपचारको क्रममा वीरगञ्जस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०६:२२
Weather Update