काठमाडौं— कुवेत लगायतका देशहरुमा नेपालका महिलाहरुलाई घरेलु कामदारको रुपमा पुर्याइनेको संख्या बढ्दै गएको पाइएको छ।
आज बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद एवं पूर्व कानुनमन्त्री धनराज गुरुङले त्यसको तथ्य बताउँदै सरकारको ध्यानाकर्षण गराए।
उनले घरेलु कामदारका रुपमा नेपाली महिलालाई पठाउन नहुने भनिए पनि व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको बताए।
आफू नेपाली जनसम्पर्क समिति कुवेतले आयोजना गरेको कार्यक्रममा सहभागि हुन त्यहाँ गएको र उक्त तथ्य फेला पारेको बताए।
सांसद गुरुङले कुवेतमा अहिले पनि ४१ हजार नेपाली महिला कामदारका रुपमा रहेका र तीमध्ये २७ हजार गैरकानुनी रुपमा रहेको तथ्य प्रस्तुत गरे। पछिल्लो ६ महिनाभित्रमा १० हजार नेपाली महिला गैरकानुनी रुपमा कुवेत पुगेको सूचना प्राप्त भएको उनले बताए।
उनले आफू कुवेतबाट कार्यक्रम सकाएर फर्किने क्रममा बेल्ग्रेटबाट फर्काइएका पाँच युवासँग भेट भएको उल्लेख गर्दै भने, ‘झापाको एउटा मेनपावर कम्पनीले प्रतिव्यक्ति ६ लाख ५० हजार लिएर बेल्ग्रेट पुर्याएको खुलेको छ, यस विषयमा सरकारको ध्यानाकषर्ण गराउन चाहन्छु।’