काठमाडौं— राष्ट्रिय जनमोर्चा पार्टीले आन्दोलनरत सहकारी पीडितहरुको आन्दोलनमा एक्येबद्धता जनाएको छ।
सोमबार माइतीघर मण्डलतामा पुगेर राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लाखौं बचतकर्ताको अबौँ रकम अपचलन गरिएको भन्दै लामो समयदेखि आन्दोलनरत सहकारी पीडितहरुको आन्दोलनमा एक्येबद्धता जनाएका हुन्।
त्यहाँ पुगेर उनले भने, ‘मैले यो आन्दोलनमा एक्येबद्धता जनाउन चाहान्छु। सहकारीबाट देशको अर्थतन्त्र राम्रो हुन्छ भनेर बैंक राख्नु भन्दा सहकारीमा खाइ नखाइ राखेको पैसा हिनामिना भएको छ।’
उनले सरकारको आड र शक्तिको भरमा सहकारीको अर्बौ पैसा हिनामिना गरेर जनताको पसिनामाथि पनि हिनामिना भएको भन्दै आक्रोश पोखे।
उनले भने, ‘सहकारीको अर्बौ पैसा हिनामिना भएको छ, त्यो सरकार बाहिरको मान्छेले भन्दा सरकारको आडमा, शक्तिको भरमा लाखौंलाख जनताको पसिनामा सहकारी ठगहरुले हिनामिना गरेका छन्।’
यसको साथै, सहकारी ऐनमा नै समस्या रहेको कारण ऐनमा संशोधन गरेर, नीति बनाएर ठगहरुलाई कडा कारबाही गर्दै जानुपर्ने पनि उनको भनाइ छ।
उनले भने, ‘हाम्रो सहकारी ऐनमा नै समस्या छ। ४८ सालको ऐन छ, सहकारी ऐन, त्यो अधुरो पनि छ। त्यसकारण सबैभन्दा पहिलो कुरा ऐनमा संशोधन गरेर, सहकारीको नीति बनाएर ठगहरुलाई कडा कारबाही गर्दै जानुपर्छ।’
अध्यक्ष केसीले सहकारीको रकम हिनामिना गर्नेलाई प्रधानमन्त्रीले सहयोग गरेर गृहमन्त्री बनाएको आरोप समेत लगाए। नेता केसीले संसद् बैठकमा समेत सहकारी गठी गरेको व्यक्ति नै उपप्रधान एवं गृहमन्त्री बनाइएको भन्दै सरकारको आलोचना गर्दै आइरहेका छन्।