News Griha :: न्यूजगृह
जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, परिवारका अन्य ४ गम्भीर बिरामी 

काठमाडौं— मकवानपुरमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने अन्य ४ जना गम्भीर बिरामी परेका छन्। 

उनीहरु एकै परिवारका व्यक्तिहरु हुन्।  

मृत्यु हुनेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–७, स्थित दगुबाङ गाउँका ५५ वर्षीय दलबहादुर चेपाङ रहेका छन्। 

दलबहादुरलाई आज उपचारका लागि चितवनको भरतपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। 

त्यस्तै मृतक दलबहादुरकी श्रीमती जालीमाया, दुई छोरीहरू रेञ्जु र सिवना, छोरा सुशीलको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। 

उनीहरूको चितवनस्थित भरतपुर अस्मापतालमा उपचार भइरहेको छ। 

शनिबार उनीहरुले घर नजिकैको जङ्गबाट च्याउ ल्याइ तरकारी पकाएर खाएका थिए। 

चेपाङ समुदाय छाक टार्नकै लागि च्याउ, वन तरूल, कन्दमूल, गिठ्ठा भ्याकुरलगायत जंगलमा आश्रित खानेकुरा खाने गरेका छन्। जसकारण जंगली च्याउ खाँदा यहाँका स्थानीय हरेक वर्ष बिरामी पर्ने गरेका छन्।

वर्षातको समयमा जङ्गलमा धेरै च्याउ उम्रिने गर्दछ। तरकारीका लागि मिठो हुने भएकाले विषालु च्याउ चिन्न नसक्दा त्यसको प्रयोगबाट धेरै जनाको ज्यान जाने गरेको छ। च्याउ चिनेर मात्रै प्रयोग गर्न चिकित्सकहरुले सुझाव दिँदै आइरहेका छन्।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १९:५९
Weather Update