काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित ‘हाइप्रोफाइल’ व्यक्तिहरुविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ।
अर्याल सञ्चार सचिव हुँदा टेरामक्स खरिदमा उनले गरेको निर्णयले राज्यलाई हानी पुगेको भन्दै उनीविरुद्ध मुद्दा चलाउने तयारी अख्तियारले गरेको हो। त्यसमा अन्य हाइप्रोफाइल व्यक्तिहरु समेत पर्न सक्ने अख्तियार स्रोतको दाबी रहेको छ।
स्रोतका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रकरण र सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्कको स्टिकर खरिद गर्ने निर्णयमा समेत मुख्यसचिव अर्यालको संलग्नता पुष्टि भएको छ।
उक्त प्रकरणमा लामो अनुसन्धानपछि अख्तियारले उनीसहित अन्य सार्वजनिक पद धारण गरेका व्यक्तिविरुद्ध मुद्दा चलाउने तयारी गरेको हो।
त्यस्तै तत्कालीन मन्त्रीहरु एवं कांग्रेस नेताहरु मोहनबहादुर बस्नेत र ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध पनि मुद्दा दायर गर्ने विषयमा अख्तियारले अनुसन्धान अघि बढाएको छ। पूर्व दुई मन्त्री, मुख्यसचिवसहित अन्य डेढ दर्जन व्यक्तिहरुविरुद्ध एकैपटक मुद्दा चलाउने तयारीमा अख्तियार रहेको स्रोतको दाबी रहेको छ।
टेरामक्स खरिद प्रकरणमा जोडिएको भन्दै मुख्यसचिव अर्यालविरुद्ध यसअघि नै मुद्दा चलाउने तयारी रहेकोमा राजनीतिक दबाबका कारण रोकिँदै आएको थियो।