काठमाडौं— काठमाडौंको ऐतिहासिक घण्टाघरको मर्मत गर्ने विषयमा संसद्मा आवाज उठेको छ।
आज बसेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् असिम साहले ऐतिहासिक धरोहरको रुपमा रहेको घण्टाघरको घण्टी बज्न छाडेको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले लामो समयदेखि त्यसले समय दिन छाडे पनि केन्द्र सरकारदेखि स्थानीय सरकार र पुरातत्व विभागले पनि त्यसलाई बेवास्ता गरेको भन्दै तत्काल निर्माणका लागि आग्रह गरे। ऐतिहासिक महत्व बोकेको उक्त घण्टाघरको निर्माण नभएमा त्यसले गणतन्त्र र संघीयतालाई जिस्काउने टिप्पणी गरे।
उनले भने, ‘घण्टीघरबाट निस्किएको आवाज त बलियो हुँदैछ, तर घण्टाघरको आवाज भने बन्द हुन पुगेको छ। राजधानीमा ध्वनी प्रदुषण कम भएको बेलामा घण्टाघरको ध्वनीको आवाज नै राजधानीबासीको समयको सूचक रहेको थियो। नेपाली सेनाले पनि यही आवाजको आधारमा मै तोप पड्काएर समयको जानकारी दिने गर्दथ्यो। तत्कालीन प्रधानमन्त्री वीर शमशेरले बनाएको यो घडीले आज समय देखाउन छाडेको छ। यसलाई केन्द्र नत सरकारले नत स्थानीय निकायले आफ्नो जिम्मेवारीमा लिएको छ। यो घण्टाघर राजधानीको शान मात्र नभएर ऐतिहासिक धरोहर पनि भएकोले यो घडीको मर्मत गरेर चालू गर्न नेपाल सरकार, काठमाडौं महानगर र पुरातात्विक विभागको ध्यानाकर्षण गराउन चाहान्छु। तत्र यो धरोहरले गणतन्त्र र संघीयतालाई जिस्काइरहनेछ।’