महाकाली नदीमा डुबेर एक बालिकाको मृत्यु, अर्की बेपत्ता
बैतडी— महाकाली नदीमा डुबेर बैतडीका एक बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छन्।
मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँड रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए।
शिवनाथ गाउँपालिका–१ कुस्मतघाटस्थित महाकाली नदीमा शनिबार बिहान १० बजेतिर नुहाउने क्रममा रजनी बेपत्ता भएकी र केही समयपछि प्रहरी र स्थानीयले मृतावस्थामा फेला पारेको प्रहरीको भनाइ छ।
रजनीसँगै महाकालीमा नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड भने बेपत्ता छिन्। उनको खोजी जारी छ। अस्मिताको खोजीका लागि स्थानीयसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन भएको प्रवक्ता पाण्डेले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असार ८, २०८१ १९:५१