News Griha :: न्यूजगृह
कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेश उच्च अदालतद्वारा सदर
फाइल तस्बिर।

काठमाडौं— उच्च अदालत पाटन हेटौँडा इजलासले कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।

शुक्रबार न्यायाधीशद्वय शान्ता सेढाईं सापकोटा र मेरिना श्रेष्ठको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत चितवनको आदेशलाई सदर गर्दै पुर्पक्षमा राख्न आदेश गरेको हो । 

गत चैत २० मा काठमाडौंबाट पक्राउ परेका खामलाई जिल्ला अदालत चितवनले चैत २३ मा पुर्पक्षमा राख्न आदेश गरेको थियो ।

उक्त आदेश बदरको माग गर्दै खामले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । सो मुद्दामा उच्च अदालत पाटन हेटौँडा इजलासले खामलाई थुनामा नै राख्न आदेश गरेको हो।

जनमुक्ति सेनाका पूर्वकमान्डर खाममाथि कोटेश्वर बस्ने रामहरि श्रेष्ठको हत्या गरेको आरोप छ । २०६५ वैशाख २८ मा नारायणी नदीमा श्रेष्ठको शव भेटिएको थियो ।

चितवनको शक्ति खोरमा जनमुक्ति सेना ‘तेस्रो डिभिजन’का कमान्डर खामको सम्पर्क कार्यालय कोटेश्वरस्थित रामहरि श्रेष्ठको घरमा भाडामा राखिएको थियो ।

सम्पर्क कार्यालयबाट २०६४ चैत १४ मा हतियार र १७ लाख रुपैयाँ नगद चोरी भएको विषयमा छानबिनको नाममा श्रेष्ठको हत्या भएको प्रहरीले अनुसन्धान निष्कर्ष निकालेको थियो ।

माओवादी लडाकुहरूले २०६५ वैशाख १५ मा श्रेष्ठलाई कोटेश्वरबाट शक्ति खोरमा लगेर थुनामा राखी यातना दिएको पीडित परिवारको आरोप छ ।

शव नारायणीमा भेटिएपछि श्रेष्ठकी पत्नी रमिलाले आफ्ना पतिको अपहरणपछि हत्या गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । खाम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् ।

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ०६:४०
Weather Update