
काठमाडौं— कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोपमा फरार रहेका माओवादीका पूर्वकमान्डर कालीबहादुर खाम पक्राउ परेका छन्।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार दिउँसो ठमेलबाट पक्राउ गरेको परिसर प्रमुख, एसएसपी भूपेन्द्र खत्रीले बताए।
उनलाई चितवन पठाउने तयारी भएको छ ।
उनी विगत १५ वर्षदेखि फरार रहेका थिए। कोटेश्वरबाट २०६५ वैशाख १५मा नियन्त्रणमा लिएर व्यापारी श्रेष्ठलाई चितवनको शक्तिखोरस्थित् माओवादी लडाकुको क्याम्पमा पुर्याइएको थियो। श्रेष्ठको घरमा माओवादी लडाकुको तेस्रो डिभिजनको सम्पर्क कार्यालय राखिएकोमा उक्त कार्यालयमा चोरी गरेको आरोपमा श्रेष्ठलाई कब्जामा लिइएको थियो।
अत्याधिक कुटपिटबाट मृत्यु भएका उनको शव वैशाख २८ बिहान नारायणी नदीमा फ्याँकिएको थियो।

तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजनका ब्रिगेड कमान्डर गोविन्दबहादुर बटाला, कमान्डर कालीबहादुर खाम, केशव अधिकारी, गंगाराम थापा र अर्जुन कार्कीलाई घटनामा संलग्नताको आरोप लगाउँदै कर्तव्य ज्यान मुद्दा चलाइएको थियो।
बटाला भने चितवन अदालतबाट सफाइ पाएपछि रिहा भएका थिए। खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ। उनी अहिले माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन्। सुरक्षा विभागको नेतृत्वमा भने उपाध्यक्ष कृष्णबहादुर महरा छन्।













