यौन दुर्व्यवहार आरोपमा प्राध्यापक पक्राउ

धनगढी— सुदूरपश्चिमाञ्चल क्याम्पसका एक प्राध्यापक यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका छन् । एसपीए क्याम्पसमा प्लस्टूअन्तर्गत कार्यविधि कानुन पढाउने प्राध्यापक चेतराज भट्टलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
भट्टले क्याम्पसमा अध्ययनरत आधा दर्जन छात्रालाई अनालाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ ।
छात्रालाई भिडिओ र म्यासेजमार्फत अश्लिल कुरा गर्ने गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोही विषयलाई लिएर पीडित छात्राका आफन्त, साथी र विद्यार्थीले विरोध जनाएपछि भट्ट पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनलाई समातेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० १८:४९