बागलुङ— जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा– जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ ।
चालु आर्थिक वर्षमा सङ्घीय सरकार र जैमिनी नगरपालिकाले विनियोजन गरेको ५० लाख गरी एक करोडमा सडक कालोपत्र गर्न थालिएको हो । कुश्मिसेरा बजारदेखि सर्कुवा, ब्यार्थला, बिनामारी, जैदीछिस्ती पुग्ने सडकको कालोपत्रसँगै स्तरोन्नतिको कामसमेत भइरहेको छ ।
आर्थिक वर्ष २०६२–०६३ सालमा ट्रयाक खुलेको सडक १८ वर्षपछि कालोपत्र हुन थालेपछि स्थानीय हर्षित छन् । जैमनी नगरपालिका–५ का वीरबहादुर खत्रीले लामो समयसम्म सडक कालोपत्र नहुँदा यस क्षेत्रका हजारौँ नागरिकले सास्ती खेपेको बताए ।
यस वर्ष कुश्मिसेरादेखि चार सय ५० मिटरमाथि सम्म सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्र गरिनेछ । सडक कालोपत्रको जिम्मा पाएको कोन्डा कन्स्ट्रक्सनले हालसम्म करिब ९० प्रतिशत काम पूरा गरेको छ ।