News Griha :: न्यूजगृह
अत्यधिक गर्मीले धनगढीमा एक जनाको मृत्यु

कैलाली— अत्यधिक गर्मीपछि बेहोस भएका धनगढी उपमहानगरपालिका–१६ का ५३ वर्षीय बलराम मग्राठीको मंगलबार उपचारको क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कविन्द्रसिंह बोहराले अत्यधिक गर्मीका कारण बेहोस भएका ५३ वर्षीय मग्राठीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए।

असार २ गतेदेखि धनगढीको बेहडाबाबा धाममा लागेको मेलामा सञ्चालित होटेलको स्टलमा काम गरिरहेका मग्राठी गर्मीले बेहोस भएका थिए। 

गर्मी बढेपछि धनगढी उपमहानगरपालिका क्षेत्रका विद्यालयमा थप ३ दिन बिदा दिइएको छ। गर्मी बढेपछि यसअघि गत जेठमा पनि केही दिन विद्यालयमा बिदा दिइएको थियो।

धनगढी उपमहानगरपालिकाले सार्वजनिक गरेको सूचनामा गर्मीले विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गरी असार ७ गतेसम्मका लागि बिदा दिइएको उल्लेख छ। 

पश्चिम तराईका कैलालीसहितका जिल्लामा पहिलोपटक लगातार अत्यधिक गर्मीको महसुस भएको स्थानीयले बताएका छन्। 

झण्डै एक महिनादेखि धनगढीको तापक्रम निरन्तर उकालो लागिरहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ०६:२५
Weather Update