News Griha :: न्यूजगृह
सहकारी ठगी प्रकरणः २ सहकारीले फिर्ता गरे रकम, अन्यमाथि अनुसन्धान हुँदै

काठमाडौं— समस्याग्रस्त सहकारीको सूचीमा परेका १९ मध्ये २ वटा सहकारीले पैसा बचतकर्ताको रकम फिर्ता गरेको पाइएको छ। 

सहकारी ठगीको विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन समितिले किटान गरेकामध्ये ती सहकारीले बचतकर्ताको रकम फिर्ता गरेको बिफ्रिङ भएको हो। 

आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको संसदीय छानबिन समितिको बैठकमा मन्त्रालयको तर्फबाट सो कुरा बिफ्रिङ भएको हो। 

बैठकपछि बोल्दै समितिकी सदस्य समेत रहेकी कांग्रेस सांसद ईश्वरी न्यौपानेले सहकारी मन्त्रालय, सहकारी विभाग र सहकारी बोर्डका प्रतिनिधिहरूले सहकारीको अवस्थाबारे ब्रिफिङ गरेको बताइन्। त्यस्तै आजको बैठकमा सहकारी मन्त्री बलराम अधिकारी समेत सहभागि रहेको बताउँदै ब्रिफिङका क्रममा कानुनी जटिलता लगायतका विषयमा समेत छलफल भएको जानकारी दिइन्। 

‘समस्याग्रस्त भनेर तोकिएका १९ मध्ये १७ वटा सहकारीको मात्रै अनुसन्धान गर्नुपर्ने देखियो। दुईवटाले रकम फिर्ता गरेको बुझियो। ब्रिफिङका क्रममा कानुनी जटिलतालगायतका विषयमा पनि कुराकानी भयो,’ उनले भनिन्। 

बैठकमा समितिका सदस्यहरूले तीन महिनाभित्र प्रतिवेदन तयार पार्नुपर्ने भएकाले सहयोग गर्न मन्त्रालय, विभाग र बोर्डलाई आग्रह गरेका हुन्।

गत जेठ १५ गते गठित समितिको आइतबार बसेको बैठकले कार्यादेश (टीओआर) अनुसार कार्याविधि बनाएसँगै काम थालनी गरेको हो।  

एमाले सांसद सूर्यबहादुर थापाको नेतृत्वमा गठित समितिमा ७ जना सदस्य रहेका छन्। उक्त समितिलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ। सहकारीको पैसा अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समेत जोडिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर सडकदेखि सदनसम्म आवाज उठाएपछि छानबिन समिति बनाएर अनुसन्धान अघि बढाइएको हो।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १६:५९
Weather Update