News Griha :: न्यूजगृह
गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्न स्वदेशीदेखि विदेशीको घुइँचो 
फाइल तस्बिर

रसुवा— यस वर्ष गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्नेहरुको संख्या बढेको छ। 

गोसाइँकुण्डमा यस वर्ष १ हजार ६ सयभन्दा बढी तीर्थालुले गङ्गादशहरा स्नान गरेको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ।

गत जेठ २५ गतेदेखि यही असार २ सम्म आठ सय ८७ महिला र आठ सय पुरुषले गङ्गादशहरा स्नान गरेको निकुञ्ज कार्यालयका संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिए। यो सङ्ख्या गत वर्षको तुलनामा ३० प्रतिशतले बढी भएको उनको भनाइ छ। 

समुन्द्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा पर्ने पवित्र तीर्थस्थल गोसाइँकुण्डमा जानेहरुको सुरक्षामा सशस्त्र र नेपाल प्रहरीको संयुक्त गस्तीटोली खटिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक केशव भट्टराईले बताए। 

गङ्गादशहरा स्नानका अवसरमा स्वदेशीसँगै ४९ जना विदेशी पनि सहभागी थिए। स्नानका लागि एक सयभन्दा बढी यात्रुहरु हेलिकप्टरमार्फत गोसाइँकण्ड पुगेका थिए। 

चालु आर्थिक वर्षसम्म असार १ गतेसम्म गोसाइँकुण्डमा २१ हजार पाँच सय १८ नेपालीहरु पुगेको निकुञ्जका संरक्षण अधिकृत सापकोटाले जानकारी दिए। केही वर्षअघिसम्म गङ्गादशहरामा १० दिन र जनैपूर्णिमा पाँच दिन गरी वर्षमा १५ दिन मात्रै गोसाइँकुण्डमा तीर्थ गर्ने चलन थियो। 

काठमाडौंबाट सवारी साधनमा धुञ्चे पुगेपछि सोहि दिन खन्ति, देउराली र चन्दनवारीलगायतका स्थानमा बास बस्न पुग्न सकिन्छ। खाना र बस्नका लागि गोसाइँकुण्ड, लौरीविनायक, चोलाङपाटी,  चन्दनवारी, डिम्सा, देउराली, खन्ति  तिवारीवगर समेतका स्थानमा होटल तथा लज सञ्चालनमा रहेको  होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान गजुरेलले बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १५:२१
Weather Update