News Griha :: न्यूजगृह
भ्रष्टाचार विरोधी अभियानका नाममा ठगी गर्ने कथित अभियन्ताको गिरोह पक्राउ 

काठमाडौं— आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता हुँ भन्दै गैरकानुनी संस्था खोली ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।  

‘बेथिति एवं भष्ट्राचार विरुद्धको अभियान २०८०’ नामक संस्था खोली विभिन्न वडाहरुमा त्यसका शाखा समेत विस्तार गरेर ठगी गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। 

पक्राउ पर्नेहरुमा काठमाडौंको गोकर्णेश्वरका विभिन्न वडामा बस्दै आएका राजु सुनार (३१ वर्षीय), आदर्श क्षेत्री (२६वर्षीय), अस्मिता खत्री (२० वर्षीया) र उनीहरुकै समूहका प्रेमप्रसाद श्रेष्ठ (४५ वर्षीय) रहेका छन्। 

उनीहरुले उक्त गैर कानुनी संस्थामार्फत् आफूहरु भ्रष्टाचार विरोधी अभियन्ता हो भन्दै विभिन्न सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, बिभिन्न टोल सुधार एवं उपभोक्ता समितिमा गइ ठगी गर्ने गरेका थिए। त्यसको उजुरी प्रहरी बृत्त गौशलामा परेपछि थप अनुसन्धान गरी सोमबार उनीहरुलाई पक्राउ गरिएको हो। 

उनीहरुले विभिन्न कार्यालयमा पुगी ‘तिमीहरुले भष्ट्राचार गरेको, कर छली गरेको, आर्थिक अनियमितता गरेको भन्ने उजुरी हामी कहाँ परेको छ, त्यस विषयमा छानबिन गर्न आएका हाँै, हामीलाई सबै हिसावकिताब देखाउ’ भन्दै असम्बन्धित सुचनाहरु माग्ने, पदाधिकारी तथा कर्मचारीहरुलाई धम्काउने, मुद्धा हालदिन्छु भनि आतंक सिर्जना गर्ने गरेका थिए। 

त्यस्तै उनीहरुले ती कार्यालयमा पुगेर भिडिओ बनाई अनाधिकृत तवरले रकम समेत असुली गरी ठगी गर्ने तथा पुष्टि नै नभएका कुराहरुलाई सामाजिक संजालमा राखी चरित्र हत्या गर्ने काममा संलग्न रहँदै आएका थिए।  

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी बृत्त बौद्धले जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १५:१०
Weather Update