काठमाडौं— संघीय संसद् सचिवालयका कर्मचारीहरुले आज पनि विरोध जनाएका छन्।
विभिन्न ११ बुँदे माग राखेर आन्दोलनमा रहेका कर्मचारीहरुले आज नयाँ बानेश्वरस्थित संसद् सचिवालयका महासचिवको कार्यालय घेराउ गरे।
उनीहरुले हातमा कालोपट्टी बाँधेर महासचिव पद्मप्रसाद पाण्डेयको कार्यालयमा धर्ना दिएका हुन्।
विभिन्न ११ बुँदे माग राखेर आन्दोलनरत उनीहरुले अतिरिक्त समयमा पनि काम गर्नुपर्ने तर त्यसको भत्ता नपाएको भन्दै विरोध जनाएका हुन्।
त्यसो त सोमबार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले संसद् सचिवालयको कर्मचारी युनियनसँग छलफल गरेका थिए। छलफल सकारात्मक भए पनि आवश्यक रकमका लागि अर्थमन्त्रीसँग छलफल गर्ने बताइएको छ।
गत जेठ २९ गतेदेखि संसद सचिवालयका कर्मचारीहरूले रणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन्। माग पूरा गर्न १ हप्ते अल्टिमेटम दिएका उनीहरूले माग पूरा नभएपछि दोस्रो चरणको आन्दोलन थालेका हुन्।