News Griha :: न्यूजगृह
चट्याङ लागेर मोरङमा एक किशोरीको मृत्यु

मोरङ— रतुवामाई नगरपालिका–४ झुर्कियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। अविरल वर्षासँगै मंगलबार बिहान परेको चट्याङ लागेर १६ वर्षीया विपना महतोको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

घरमै बसिरहेका बेला बिहान ७ः३० बजेतिर चट्याङ लागेर विपना गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए। 

शव पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

यस्तै, मोरङको धनपालथान गाउँपालिका–७ कदमाहस्थित एउटा घरमा चट्याङ परेर आगलागी भएको छ। स्थानीय रामा केवरतको घरमा बिहान ४ः३० बजेतिर आगलागी भएको डीएसपी बस्नेतले बताए।

आगोले १ तले घर पूर्णरूपमा जलेको छ । घरभित्र रहेका सामान पनि जलेर ध्वस्त भएको उनले बताए।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ११:४८
Weather Update