News Griha :: न्यूजगृह
घाँसखेतीबाट मनग्य आम्दानी 

तम्घास (गुल्मी)— गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दैनिकी आजकाल घाँसखेतीमा कट्ने गरेको छ। ३९ वर्षीय उनी बिहान उठेदेखि रातिसम्म समयलाई बारीमै सदुपयोग गर्छन्।

उनले २१ रोपनी आफ्नो र ८९ रोपनी छिमेकीको जग्गा भाडामा लिएर घाँसखेती गरेका छन्। उनले किम्बु, राइखन्यु, बडर, मरिङ्गा, रसियन कम्फे, नेपियर, रेड नेपियर, फोरजी बुलेज, जेइन्ड किङलगायत गरी ५० भन्दा बढी जातका घाँसका बिरुवा उत्पादन गरिरहेका छन्।

रसियन कम्फे विशेषगरी बङ्गुर र कुखुराको आहाराका लागि प्रयोग हुने गर्दछ। अन्य घाँस पनि गाईभैँसीलाई फाइबर, प्रोटिन र भिटामिनयुक्त रहेका छन्। उनी भन्छन् 'अब घाँसखेतीबाटै जीविकोपार्जन गर्ने सोच बनाएको छु। ' 

गत वर्षदेखि बिरुवा बिक्री गर्न सुरु गरेका उनले १० लाख ५० हजारभन्दा बढीको बिरुवा बिक्री गरिसके। उत्पादन गरेका बिरुवा गुल्मीका साथसाथै अर्घाखाँची, पाल्पा, बुटबल, रूपन्देही, कपिलवस्तु, स्याङ्जा, पोखरा, रुकुमपश्चिम, रोल्पा, दाङ, हेटौँडा, मोरङलगायत स्थानमा बिक्री हुने गर्दछ।

अधिकांश बिरुवा उनले अनलाइन मागका आधारमा पठाउने गर्छन्। प्रतिबिरुवा दुईदेखि ५० रुपैयाँ सम्मका बिरुवा उनीसँग छन्। अहिलेको वर्षायाममा बिक्री गर्नका लागि उहाँसँग ४० लाख मूल्य बराबरका घाँसका बिरुवा रहेको छ। उनले गत वर्षभन्दा अहिले १० रोपनी जग्गामा थप घाँसखेती विस्तार गरेका छन्। खत्रीले १३ वर्ष दुबईको कम्पनीमा काम गरेर स्वदेश फर्किएका हुन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ११:३८
Weather Update