News Griha :: न्यूजगृह
ट्यांकर चालकहरुसँग सहमति, पेट्रोल पम्प खुल्ने 

काठमाडौं— सरकार र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीचको वार्ता सकारात्मक भएको छ। 

केहीबेरअघि सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सम्पन्न छलफल सकारात्मक भएपछि पेट्रोलियम पदार्थको ढुवानी सहज हुने भएको हो। 

आज बिहानैदेखि ट्यांकर चालकले पेट्रोलियम पदार्थको ढुवानी रोकेपछि काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको कृतिम अभाव गराइएको थियो।  

त्यसलाई रोक्न उद्योग मन्त्रालयले पेट्रोलियम ट्यांकर चालक संघ र नेपाल आयल निगमसँग छलफल गरेको हो। 

छलफल सकारात्मक भएको र चालकहरु ढुवानीका लागि तयार भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए। उनका अनुसार विभिन्न ७ माग निगमले पूरा गर्ने र अन्य मागका लागि कमिटी गठन गरिएको छ। 

त्यस्तै अबको एक घण्टाभित्र काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको सहज उपलब्धता हुने उनले बताए।

विभिन्न ७ बुँदे माग राख्दै पेट्रोलियम ढुवानी गर्ने ट्यांकर चालक आन्दोलित भएका हुन। ढुवानी मजदुरहरूको तलब भत्ता श्रम ऐन अनुसार हुनुपर्ने र श्रमिकहरूको सुरक्षा ग्यारेन्टी गरिनुपर्नेलगायतका मागहरु अघि सारेर उनीहरुले आन्दोलन गरेका हुन्। 

t

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १४:५६
Weather Update