News Griha :: न्यूजगृह
असन्तुष्ट ट्यांकर चालकहरुलाई वार्ताका लागि बोलाइयो 

काठमाडौं— ट्यांकर चालकहरूले पेट्रोलियम ढुवानी रोकेपछि काठमाडौं उपत्यकामा इन्धन अभाव भएको छ। चालकहरु हड्तालमा उत्रिएपछि थानकोट डिपोबाट इन्धनको वितरण प्रभावित भएको हो।

विभिन्न ७ बुँदे माग राख्दै पेट्रोलियम ढुवानी गर्ने ट्यांकर चालक आन्दोलित भएका हुन। ढुवानी मजदुरहरूको तलब भत्ता श्रम ऐन अनुसार हुनुपर्ने र श्रमिकहरूको सुरक्षा ग्यारेन्टी गरिनुपर्नेलगायतका माग नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले बताए।

जेठ ३२ गतेदेखि कालोपट्टी बाँधेर काम गरेको र सोमबारदेखि बागमती प्रदेशमा इन्धनको वितरण गर्ने थानकोट डिपोमा इन्धन नखन्याई विरोध प्रदर्शन गरिरहेको लामाले बताए।

‘निरन्तर आन्दोलनपछि आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वार्ताका लागि बोलाएको छ। माग पुरा गर्ने प्रतिबद्धता आए आन्दोलनका कार्यक्रमहरु फिर्ता हुनसक्छन्,’ अध्यक्ष लामाले भने। 

पेट्रोलियम पदार्थको आपूर्ति नै रोकिएपछि सरकारी पेट्रोल पम्पमा सवारी धनीहरुको लाइन लागेको छ। पेट्रोल पम्पहरु नै बन्द गरिएपछि सरकारले तत्काल त्यसको समाधानका लागि वार्तामा बोलाएको हो। 

ऐनअनुसार नियुक्ति र सुविधासँगै, स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न, सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन लगायतका माग गरेका छन्। 

ट्यांकर चालकहरुको हडतालका कारण काठमाडौं उपत्यकाका अधिकांश पम्पहरु बन्द भएका छन् । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १२:३७
Weather Update